बिहिबार, बैशाख १३, २०८१

विदेशबाट फर्किएका युवा कृषिमा

मोरङ, २२ फागुन । कृषिमा आधारित उद्योगलाई सरकारले सहुलियत ब्याजदरमा ऋण दिने भएपछि विदेशबाट फर्किएका युवा कृषिजन्य उद्योगतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारबाट फर्किएपछि व्यावसायिक कृषिमा आकर्षित भएपछि मोरङमा साना र मझौला उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय मोरङको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २७२ उद्योग दर्ता भएका छन् । जसमा १०२ वटा कृषिजन्य उद्योग छन् । यस्तै सेवाजन्य ६३ वटा र पर्यटन उद्योग १० वटा दर्ता भएका छन् ।

कृषिमा आधारित उद्योग दर्ता गर्ने क्रम बढेको कार्यालयले जनाएको छ । मङ्सिरमा ९२ वटा उद्योग दर्ता भएकामा ८० प्रतिशत कृषिजन्य उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख उमेश पाण्डेले जानकारी दिए । विदेशबाट फर्किएका युवा उद्योग दर्ता गर्न आइरहेका छन् उहाँले भने- ँदर्ता भएका उद्योगले सन्तोषजनक रूपमै काम गरेका छन् । सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेटमा कृषिमा आधारित उद्योगलाई सहुलियत ब्याजदरमा ऋण दिने घोषणा गरेपछि जिल्लामा कृषिमा आधारित उद्योग दर्ता गर्ने क्रम बढेको उनको भनाइ छ ।

बजेटमार्फत सरकारले सहुलियत ब्याजदरमा ऋण दिने र कृषिक्षेत्रको विकासका लागि प्राथमिकता दिने घोषणा गरेको थियो । कृषि उद्योग दर्ता गर्ने र सञ्चालन गर्ने क्रम बढे पनि बजेटमा घोषणा भएअनुसारको कृषि ऋणमा ब्याज सहुलियत कार्यान्वयन नभएको पाण्डेले बताए । मोरङमा गाईपालन, भैँसीपालन, माछा, कुखुरा, डेरी उद्योग, बङ्गुरपालनलगायतका उद्योग बढी दर्ता भएका छन् ।

मोरङ बयरवनका वीरेन्द्र साहले विदेशमा भन्दा यहीँ राम्रो कमाइ हुने देखेर डेरी उद्योग दर्ता गरेको बताए । चार वर्ष मलेसिया बसेर गएको दसैँमा घर फर्किएका मोरङ राजघाटका सुरेश ढकालले पनि ‘मिनी कृषि’ फार्म दर्ता गरेका छन । उनले फार्ममा कुखुरा, हाँस, बाख्रा, गाईभैँसी, माछा पाल्ने तयारी गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २२, २०७१