बिहिबार, फाल्गुन १७, २०८०

बंगुर पाल्नेलाई ७ लाख

बनेपा, २२ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा बङ्गुरपालन व्यवसायमा संलग्न छजना कृषकलाई रु सात लाख ५० हजार अनुदान वितरण गरिने भएको छ ।

युवा स्वरोजगार लक्षित कार्यक्रमअन्तर्गत रु चार लाख ५० हजार र पशु सेवा प्रसारअन्तर्गत रु दुई लाख ५० हजार वितरण हुने जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिएका छन् ।
उनका अनुसार पशु सेवा प्रसारअन्तर्गत रु दुई लाख ५० हजारको बङ्गुरको पाठापाठी कृषकलाई उपलब्ध गराइने छ । बङ्गुरको मझौला खोर निर्माणका लागि रु एक लाख २५ हजार र साना खोर निर्माणका लागि रु एक लाख उपलब्ध हुनेछ ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार सो अनुदान रकमका लागि ६१ जनाले आवेदन दिएको र फागुनको अन्तिम साता अनुदान वितरण गरिने छ ।
जिल्लाको पाँचखाल, मण्डन क्षेत्र, पनौती, खोपासी क्षेत्र बङ्गुरपालनको पकेट क्षेत्र हुन् । जिल्लामा न्यु हेन्डसार, धराने कालो बङ्गुर, ल्यान्डसार, ड्युरोकलगायतका उन्नत जातको बङ्गुरपालन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २२, २०७१