शनिबार, बैशाख ८, २०८१

हिमपात र असिनाले फलफूल स्वाहा !

गोरखा, २१ फागुन । लगातार पाँच दिनसम्म परेको हिमपातले गर्दा गोरखाको उत्तरी भेगमा स्याउको फूल नष्ट भएको छ । बाक्लो असिनाले सुन्तलालगायत अमिला जातका फलफूलको फूल झारेको किसानले जनाएका छन् । हिमपातले उत्तरी गोरखाका किसानले लगाएका करिब ६० हेक्टर क्षेत्रफलमा फैलिएको स्याउको फूल झरेको छ ।

उत्तरी गोरखाको ल्हो, प्रोक, बिही र छेकम्पार गाविसमा लगाइएको स्याउको फूल हिमपातले नष्ट गरेको प्रोकका स्थानीय किसान पेम लामाले जानकारी दिनुभयो । लामाका अनुसार स्याउको फूल हिउँले झारेकाले आगामी वर्ष उत्पादनमा ह्रास आउने भएको छ । “झपक्कै फुलेको स्याउको फूल हिउँले स्वाहा बनायो”–उनले भने–“किसानलाई घाटाको घाटा ।” पाँच फिटसम्म जम्ने गरी हिउँ परेकाले फलफूलका साथै उत्तरी भेगका किसानले लगाएको तरकारी बालीसमेत नष्ट भएको उनले बताए । हाँगा समेत भाँचिएकाले यस वर्ष गत वर्षको तुलनामा ८० प्रतिशत स्याउको उत्पादन घट्ने किसानको गुनासो छ ।
जिल्लाको तल्लो भेगमा परेको असिनाले सुन्तला, निबुवा, कागतीलगायत फलफूलका साथै तरकारी बालीमा क्षति पुगेको किसानले जनाएका छन् । ताङ्लीचोक, घैरुङ, ताक्लुङ, मनकामना, फिनामलगायत गाविस सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिन्छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २१, २०७१