मङ्लबार, बैशाख ४, २०८१

सचिवको फेरवदल : खनाललाई उद्योग मन्त्रालयमा सरुवा, कृषिमा उत्तम कुमार

jaya and uttamकाठमाडौं, फागुन । सरकारले विशिष्ट श्रेणीमा बढुवा भएका सचिवहरुलाई पदस्थापना गर्ने निर्णयसँगै केही सचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई उद्योग मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका मन्त्रालयमा कार्यरत सचिव उत्तमकुमार भट्टराईलाई कृषि मन्त्रालयमा ल्याएको छ । कृषि विकास मन्त्रालयमा सरुवा भएर आएका सचिव उत्तम कुमार भट्टराई अघिल्लो पटक कृषि विकास मन्त्रालयबाट सहसचिवबाट सचिवमा बढुवा भए लगतै उद्योग मन्त्रालयमा पदस्थापना गरिएको थियो । भने लामो समयदेखि प्रशासनिक क्षेत्रमा आफूलाई सफलताका साथ उभ्याउन सफल भएका सचिव जयमुकुन्द खनालले करीव २६ महिना कृषि विकास मन्त्रालयको सचिवको पद सम्हाल्ले थिए ।
कृषि विकास मन्त्रालयमा रहँदा आम नेपाली किसानका पक्षमा काम गर्दै किसानहरुलाई सुरक्षित गर्नु पर्दछ भन्दै कृषि बीमा नीति ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका जयमुकुन्द खनालले आफू कृषि मन्त्रालयमा सचिव भएर आएदेखि हरेक बर्ष हुने मलको अभावलाई परिपूर्ति गर्दै मलको अभावको अन्त्य गर्न सफल भएका थिए । कृषि क्षेत्रको व्यक्ति नभएपनि कृषि क्षेत्रको विकासका लागि खनालले अतुलनीय योगदान गरेको कृषि विज्ञहरुले बताएका छन् । नेपाली कृषि क्षेत्रको इतिहासमा जयमुकुन्द खनालले सचिव हुँदा गरेका कार्यलाई सायदै किसानहरुले भुल्न सक्नेछन् ।
कृषि विकास मन्त्रालयमा सचिव फेरवदलसँग अन्य मन्त्रालयमा पनि सचिव फेरवदल र पदस्थापना गरिएको सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता मिनेन्द्र रिजालले बताए ।
यसरी पदस्थापना गरिएका सचिवमा नारायणगोपाल मलेगु र प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खुमराज पुञ्जालीलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पदस्थापना गरिएको छ भने सूचना तथा सञ्चारमन्त्रालयको सचिवमा सुनिलबहादुर मल्ल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवमा ङइन्द्रप्रसाद उपाध्याय, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा टङ्कमणि शर्मा, रक्षा मन्त्रालयको सचिवमा ईश्वरीप्रसाद पौड्याल, नेपाल ट्रष्टको कार्यालयको सचिवमा नरबहादुर रजावर र रमेशकुमार शर्मालाई राष्ट्रिय सर्तकता केन्द्रको सचिवमा पदस्थापना गरिएको छ । यस्तै, जल तथा ऊर्जा आयोगको सचिवमा गजेन्द्रकुमार ठाकुर, राष्ट्रिय सूचना आयोगको सचिवमा लक्ष्मणप्रसाद मैनाली, सामान्य प्रशासन मन्त्रालयको सचिवमा राजन खनाल, अर्थमन्त्रालयको सचिवमा नवराज भण्डारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा श्रीधर सापकोटालाई पदस्थापना गरिएको छ । यस्तैगरी क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको प्रशासकमा विजयकुमार मल्लिक, क्षेत्रीय प्रशासन कार्यालय धनकुटाको प्रशासकमा सुरेशप्रकाश आचार्य, क्षेत्रीय प्रशासन कार्यालय सुदूरपश्चिमाञ्चलको प्रशासकमा शरदराज विष्ट, क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चलको प्रशासकमा रामकुमार आचार्य र क्षेत्रीय प्रशासन कार्यालय पोखराको प्रशासकमा दिनेशकुमार थपलियालाई पदस्थापना गरिएको छ । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बुधबार, फाल्गुन २०, २०७१