आइतवार, जेष्ठ १३, २०८१

भिसा रद्द गरेर तरकारी खेती

aaaसंखुवासभा : भिसा लागेर पनि विदेश जाने पैसा तिर्न नसक्दा स्याबुन ३ डुम्रबेसीका ३३ वर्षीय चन्द्रबहादुर कोइराला एक वर्षअघि निराश बने। गाउँमै बसेर केही गर्नुपर्छ भन्ने लागेर उनले तरकारी खेती थाले।  कोइरालाले बाँझो जग्गामा थालेको तरकारी खेती अहिले लटरम्म फलेको छ। उनले आलु, गोपी, साग, गोलभेंडा बिक्री गरेर मासिक २५ हजारसम्म आम्दानी गर्न थालेका छन्।

 कोइरालाजस्तै दिदिङ १ बर्देउका २७ वर्षीय भुवन राई पनि कतारको भिसा रद्द गरेर तरकारी खेतीमै व्यस्त छन्। आर्थिक अवस्था कमजोर भएकाले सम्पत्ति कमाउन विदेश जाने तयारी गरे पनि गाउँका अगुवाको सल्लाहमा उनले भिसा रद्द गरेर तरकारी खेती थालेका हुन्। ‘भिसा रद्द गरेर राम्रै गरेछु’, उनले भने, ‘घरमै बसेर मासिक २० हजार कमाउन थालेको छु।’

आर्थिक रूपमा विपन्न भएर विदेश जाने सोचमा भएकालाई जिल्ला कृषि विकास कार्यालयले ४० हजार अनुदान दिन लागको थाहा पाएपछि राई कृषि कार्यालयमा पुगेका थिए।

 कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा तरकारी खेती, च्याउ खेती र माछापालनका लागि ४६ जना युवालाई ४० हजारका दरले १८ लाख ४० हजार अनुदान वितरण गरेको छ। यसबाट पनि युवा कृषि व्यवसायतर्फ आकर्षित बनेका छन्।

कार्यालयले रकम दिने भएपछि उत्साहित भएर तरकारी खेतीमा लागेको उनले बताए। बेरोजगार, विपन्न, दलित, पिछडिएका युवालाई अनुदान दिँदै आएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रमोदकुमार रिजालले बताए।

 खाँदबारी ११ पिप्लेका गणेश कार्की र पत्नी लक्ष्मी कार्कीले खाँदबारी बजारमा तरकारी बिक्री गरेरै मासिक ३० हजारसम्म आम्दानी गर्दै आएका छन्। गणेशले पनि पैसा कमाउनका लागि बिदेसिन खुट्टो उचालेका थिए।

 श्रीमती लक्ष्मीले गाउँमै तरकारी व्यवसाय गर्ने सल्लाह दिएपछि व्यावसायिक तरकारी खेती थालेको उनले बताए।

 ‘घरखर्च टारेको छु, दुईजना छोराछोरीलाई बोर्डिङ स्कुल पढाएको छु’, गणेशले भने, ‘केही रकम जम्मा पनि गर्न सकेको छु।’ बजारको मागअनुसार तरकारी पुर्‍याउन नसकेपछि थप खेती विस्तार गर्ने योजनामा रहेको उनले सुनाए।

 कृषि विकास कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा तरकारी खेती, च्याउ खेती र माछापालनका लागि ४६ जना युवालाई ४० हजारका दरले १८ लाख ४० हजार अनुदान वितरण गरेको प्रमुख रिजालले बताए।

 ५० प्रतिशत अनुदान हुने गरी केही गर्ने सोच भएका, विदेश जाने तयारीमा रहेका युवा र आफ्नै गाउँमा केही गर्न सक्ने युवालाई अनुदान उपलब्ध गराएको रिजालले बताए। कृषिसम्बन्धी अध्ययन गरेका, पिछडिएका वर्ग, महिला, दलितलाई कार्यक्रममा प्राथमिकता दिएको कार्यालयले जनाएको छ।

 यी युवाको सफलताले तरकारी खेतीप्रति युवाको आकर्षण बढेको छ। कृषि कार्यालयले एकीकृत शत्रुजीव व्यवस्थापनसम्बन्धी कक्षा नै दिएर उनीहरूलाई थप व्यावसायिक बनाएको छ। छेटु शेर्पा

प्रकाशित मिति: बुधबार, फाल्गुन २०, २०७१