आइतवार, फाल्गुन २०, २०८०

उखु किसान निर्णायक आन्दोलनमा उत्रिए आज पूर्वपश्चिम बन्द, १५ गते उखु जलाइने

ukhu photoकाठमाडौैं ,१० फागुन । लामोसमयदेखि उखुको मूल्य निर्धारणका लागि आवाज उठाउँदै आईरहेका उखु किसानहरुको माग कतैबाट सुनुवाई नभएपछि अन्ततोगत्वा मन्त्रालयले नै मूल्य निर्धारण गर्ने हो कि भन्ने संकेत पाएका किसानहरु आन्दोलनमा उत्रने तयारीमा जुटेका छन् ।

विगत बर्षहरुको भन्दा उखु उत्पादनको लागत मूल्य बढेको भन्दै उखुको उचित मूल्य किसानहरुले माग गरेका छन् । त्यत्तिमात्र होइन किसानहरुले चिनी उद्योगहरुलाई उपलब्ध गराएको उखुको मूल्य समेत विगत चार महिनादेखि प्राप्त गर्न सकेका छैनन् । त्यसैले पनि किसानहरु आक्रोशित बन्दै आज १० गते आईतबारदेखि पुर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने तयारीमा जुटेका छन् ।
चारमहिना अगाडि उपलब्ध गराएको उखुको भुक्तानी किसानहरुले मूल्य निर्धारण नभएकै कारण पाउन सकेका छैनन् । उखुको सिजन सकिन लाग्दासम्म पनि सरकारले उखुको मूल्य निर्धारण नगरेका कारण उखु किसानहरु मर्कामा परेका हुन् ।
किसानहरुले उखुको मूल्य न्यूनतम प्रतिक्विन्टल ५सय २५ रुपैयाँ हुनु पर्ने माग राखेर चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको भएपनि सो आन्दोलनले कुनै अर्थ राखेको छैन । उखु किसानहरुको आन्दोलनलाई सरकारले वेवास्ता गरेकै कारण फागुन १० गते निर्णायक आन्दोलन गर्ने लागेको किसानहरुले बताएका छन् । निर्णायक आन्दोलन गर्ने भन्दै नवपरासी र मोरङ्गका किसानहरु अन्तिम तयारीमा जुटिरहेको नवलपरासीका उखु उत्पादन कृषक समितिका अध्यक्ष उमेश यादव शनिबार कृषिलाई बताएका छन्  । हामी मध्यरातसम्म कुर्दछौं भएन भने भोलीबाट सडक बन्ददेखि यातायात ठप्प पार्ने छौं ।
गतबर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७६ रुपैयाँ निर्धारण गरिएको थियो भने यो बर्ष ४९ रुपैयाँ थप गर्न किसानहरुले माग गरेका हुन् । यो समाचार तयार पार्दासम्म पनि उखु किसान र सरकारवीच कुनै पनि सहमति हुने संकेत देखिएको छैन । कृषिको विकास गर्नका लागि सरकारले जति नै ठूला र चर्का कुरा गरेपनि उखु किसानहरुको साधारण माग समेत सम्वोधन गर्न नसक्ने सरकारले कृषिमा आत्मनिर्भरता हुन्छु भन्नु दिवा स्वप्न बाहेक केही

पनि हुन नसक्ने बताउँदै समितिले निर्णायक आन्दोलनका लागि तयार रहन सम्पूर्ण उखु किसानहरुलाई आग्रह समेत गरेको छ । उखु किसानहरुले फागुन १० गतेदेखि पूर्वपश्चिम राजमार्ग ठप्प पार्ने, १५ गते सांकेतिक रुपमा सडकमा उखु जलाउने कार्यक्रम घोषणा गरेका छन् । धेरै किसानहरुको खेतमा उखु सुक्दै गएको छ भने उखु कटान गरिसकेका किसानहरुको उखु पनि बारामा रहेको भारतीय महावाणिज्यदूतावास र स्थानीय प्रशासनको पहलमा सिमावर्ती भारतीय चिनीमिलमा लैजाने व्यवस्था मिलाएको थियो । सोही अनुरुप सीमापारी उखु लैजान लागेका किसानहरुलाई सीमामा तैनाथ गरिएका भारतीय एसएसवी र बिहार पुलिसले रोकिदिएपछि किसानहरु झन् आक्रोशित बनेका छन् ।
नवलपरासी जिल्लामा साँढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिँदै आएको छ भने १४ हजार घरपरिवार व्यवसायिक रुपमा उखु खेतीमा संलग्न छन् । जसले वार्षिक २० देखि २५ लाख क्विन्टल उखु उत्पादन गर्दै आएका यादवले बताए । सरकारले उखुको मूल्य निर्धारण नगरेका कारण जोखिम मोलेर कतिपय किसानहरुले नवलपरासी जिल्लामा रहेका चार ठूला उद्योगलाई उखु दिनु पर्ने वाध्यता रहेको छ । उखु किसानहरुका पक्षमा सरकारले तत्कालै उचित निर्णय नगरे त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने संकेत देखिएको छ ।  -योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, फाल्गुन १०, २०७१