शुक्रबार, चैत्र १६, २०८०

युरोपमा टिमुरको बढ्दो

timur photoम्याग्दी, ८ फागुन । स्वास्थ्यका लागि अति नै उत्कृष्ट मानिएको टिमुरलाई हेर्ने दृष्टिकोणमा मात्र होइन उपभोग गर्ने बानीमा समेत परिवर्तन आएको छ । टिमुरको प्रयोग स्वास्थ्यवर्धक भएकाले टिमुरको माग नेपालमा मात्र होइन विदेशबाट समेत बढ्न थालेको छ । त्यसैले त केही वर्षअघिसम्म कौडीको मूल्यमा टिमुर बेच्ने बेनी नगरपालिका घतानका सागर बानियाँले यस वर्ष अपेक्षा गरेभन्दा धेरै राम्रो भाउमा विदेश निकासी गरे। बेनी-१० तोरीपानीका १० समूहसहित जिल्लाभरबाट जर्मनीमा ६० केजी टिमुर निर्यात भएको छ।
‘विदेशबाट माग आउन थालेपछि उत्साहित छौं। अग्रिम बुकिङ हुन थालेको छ,’ टिमुर कृषक बानियाँले भने। उनका अनुसार स्थानीय बजारमा प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको टिमुर काठमाडौंस्थित फार्मिङ फर हेल्थ नामक संस्थामार्फत १५ सय रुपैयाँ प्रतिकिलोमा गाउँबाटै उठाइएको छ।
टिमुर उत्पादनका लागि पटेक क्षेत्र मानिएको तोरीपानी सहित जिल्लाका करिब २० गाविसमा उत्पादन हुने टिमुर औषधी र खानाका परिकारमा मसलाका रुपमा प्रयोग हुने जिल्ला वन कार्यालय म्याग्दीका रेन्जर तथा टिमुर विज्ञ चन्द्रमणि सापकोटाले बताए। ‘युरोपसम्म पुगेपछि कृषक उत्साहित छन्। प्रत्येक वर्ष विस्तार भइरहेको छ,’ उनले भने। जर्मनी पुगेका टिमुर मसला बनाएर थप ७२ देश पुग्ने गरेको उनले बताए।
जिल्लामा मागअनुसार टिमुर नभएपछि देशभरबाट संकलन गरेर पठाउने गरेको उनले बताए। अनुकूल मौसम, पर्याप्त हेरचाह, मलजल गरे जिल्लाबाट वार्षिक २६ सय किलो संकलन गर्न सकिने जिल्ला वन कार्यालयले जनाएको छ। भिरपाखा, खेतबारीमा समेत हुने भएकाले कार्यालय लगायत अन्य साझेदार संस्थाले टिमुर खेती लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन्। युरोपसँगै जापान, दक्षिण कोरिया, अमेरिका, बेलायतमा रहेका नेपाली रेस्टुरेन्ट र डिपार्टमेन्टल स्टोरबाट समेत टिमुरको माग आउन थालेको छ। हिमाली क्षेत्रमा पनि टिमुरको माग उच्च छ। विशेष गरी लेक लाग्नबाट बच्न टिम्बुर खाने गरिन्छ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रममार्फत म्याग्दी उद्योग वाणिज्य संघले समेत टिमुरखेतीमा लगानी गरेको छ। पकेट क्षेत्रका कृषकको आवश्यकतालाई ध्यानमा राखेर नयाँ बिरुवा विस्तार गरिएको संघका अध्यक्ष जीवनकुमार विश्वकर्माले बताए। ‘टिमुरमा जिल्लाको भविष्य राम्रो छ। यसले कृषकको जीवनस्तरमा परिर्वतन ल्याउन समेत महŒवपूर्ण भूमिका निर्वाह गरेको छ,’ विश्वकर्माले भने। यस वर्ष बरंजा, घतान, पाखापानी लगायतमा नयाँ नर्सरीसमेत स्थापना गरेर खेती विस्तार गरिएको छ

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ८, २०७१