शुक्रबार, चैत्र १६, २०८०

सरकारले उखुको मूल्य तोक्ने संकेत

काठमाडौं ८ फागुन । उखु किसानहरुको उखुको मूल्य नपाएर आन्दोलन गरेको लामो समय वितिसक्दा पनि अmझै उद्योगी र किसानहरुवीच मूल्यको तोक्ने विषयमा सहमति हुन सकेको छैन । मूल्य तोक्नका लागि किसानहरुले लामोसमयदेखि आन्दोलन गरिरहेका छन् । आन्दोलन निरन्तर बढ्दै गइका कारण त्यसले सरकारलाई समेत टाउको दुखाई बन्न थालेको छ । आफ्ना मागहरु पूरा नभएपछिट किसानहरुको आन्दोलनले रुप परिवर्तन गर्न थालेपछि उखुको मुल्य तोक्नका लागि सरकारले नै अग्रसरता देखाउने तयारी गरिरहेको छ । 

दुवै पक्ष आ–आफ्नै अडानबाट टसमस नभएपछि दुई–तीन दिनभित्र नयाँ मूल्य तोक्न लागेको उद्योगमन्त्री महेश बस्नेतले बताए। ‘उद्योगी र किसानबीच सहमतिको लागि धेरै पहल गरियो तर केही सीप लागेन,’ मन्त्री बस्नेतले भने, ‘अब दुई–तीन दिनभित्रै मूल्य तोक्ने गरी प्रक्रियामा गएका छौं।’ केही दिनभित्र मुख्यसचिव लीलामणि पौड्यालसँग उद्योग र कृषि मन्त्रालयका प्रतिनिधि बसेर मूल्य तोक्ने मन्त्री बस्नेतले जानकारी गराए। 

दुवै पक्षलाई मान्य हुने गरी बीचको बाटोबाट सहमति गर्न आग्रह गरे पनि सफल हुन नसकेको मन्त्री बस्नेतले बताए। उखु किसानले यस वर्ष १५ प्रतिशत लागत बढेकाले पोहोरभन्दा कम मूल्य तोक्न नहुने अडान राखेका छन्। चिनीमिल सञ्चालकले यस वर्ष चिनीको मूल्य घटेकाले पोहोरभन्दा घटाउनु पर्ने अडान राख्दै आएका छन्। पोहोर साल उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७६ रुपैयाँ तोकिएको थियो। मुख्यसचिव पौड्यालले पनि व्यवसायी र किसानबीच सहमति हुन नसके सरकार आफैंले मूल्य तोक्न पहल गर्नुपर्ने बताए। यसबीचमा उद्योगी र किसानबीच भएका सहमति पनि कार्यान्वयन नभएकाले सरकारले आफैं पहल गर्नुपर्ने उनको भनाइ छ।

चिनी उद्योगी, उखु उत्पादक किसान र सरकारबीच दुई महिनादेखि विभिन्न चरणमा वार्ता र छलफल भइरहेका छन्। चिनीमिल चल्न थालेको तीन महिना हुँदा पनि दुवै पक्षको असमतिले मूल्य तय हुन सकेको छैन। कतिपय व्यवसायी समय लम्ब्याउँदै लैजाने मानसिकतामा देखिएको मन्त्री बस्नेतले बताए। उद्योगीहरू संवेदनशील हुनुपर्ने भन्दै मन्त्री बस्नेतले सरकारले वैज्ञानिक मूल्य निर्धारण गर्ने बताए।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ८, २०७१