शुक्रबार, चैत्र १६, २०८०

मकै उत्पादन वृद्धि गर्न १२ टन विउ बाँडिने

दमौली, ७ फागुन- तनहुँ जिल्लामा मकै उत्पादन वृद्धिका लागि जिल्ला कृषि विकास कार्यालयले यो वर्ष १२ मेट्रिक टन मकैको विउ वितरण गर्ने भएको छ । पशुपालन तर्फ किसानको आकर्षण बढेको र दाना र दैनिक आहारामा मकैको आवश्यकता हुनाले कार्यालयले मकैको विउ अनुदानमा वितरण गर्न लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले जानकारी दिए ।
अभियानमुखी मकै कार्यक्रम अन्तर्गत कार्यालयले जिल्लामा रहेका विभिन्न सेवा केन्द्र मार्फत् मकैको विउ वितरण गर्ने उनले बताए । वरिष्ठ कृषि विकास अधिकृत मल्लका अनुसार हाइव्रिड जातका मकैका विउ ३३ प्रतिशत र उन्नत जातका मकैका विउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिनेछ ।
गत वर्ष कार्यालयले ६ टन मात्रै मकैको विउ वितरण गरेकोमा यो वर्ष उक्त कार्यक्रमलाई बढि प्राथमिकता दिई १२ टन वितरण गर्न लागिएको मल्लले बताए । १२ टन मकैको विउ ५८३ हेक्टर क्षेत्रफललाई पुग्ने अनुमान गरिएको उनले बताए ।
जिल्लामा २२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती भइरहेको छ । त्यसबाट गत वर्ष ६४ हजार २ सय ३५ मेट्रिक टन मकै उत्पादन भएको थियो ।
कृषकलाई बाँड्नका लागि कार्यालयले रामपुर कम्पोजिट, अरुण र मनकामना जातका मकैका विउहरु ल्याइसकेको छ । रामपुर कम्पोजिट समथर भागमा, अरुण खेतमा र मनकामना जातका मकै डाँडाहरुमा उपयुक्त हुने वरिष्ठ कृषि विकास अधिकृत मल्लले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ७, २०७१