आइतवार, मंसिर १७, २०८०

कालीमाटीमा दैनिक तीन करोड कारोबार

काठमाडौं,६ फाल्गुन  ।  सरकारी स्वामित्वको तरकारी बजार कालिमाटीमा गत एक वर्षमा सबा दुई लाख मेट्रिक टन तरकारी भित्रिएको छ।  गत आर्थिक वर्षको फागुनदेखि चालू आर्थिक वर्षको माघ मसान्तसम्म दुई लाख २९ हजार एक सय ६० मेट्रिक टन तरकारी भित्रिएको हो। गत आर्थिक वर्षमा कालिमाटीमा दुई लाख २० हजार ६ सय मेट्रिक टन तरकारी भित्रिएको थियो।

यो बजारमा दैनिक तीन करोड मूल्यभन्दा बढीको कारोबार हुने गर्छ। समितिका कार्यकारी निर्देशक टीकाराम शर्माका अनुसार यहाँ भित्रिने तरकारीमा बढी हिस्सा भारतबाट आयात हुने तरकारीले ओगटेको छ।

कालीमाटी बजारमा एक वर्षमा भित्रिएको सामग्रीमध्ये ८२.९२ प्रतिशत तरकारी, १०.५५ प्रतिशत फलफूल, ४.२६ प्रतिशत मसला र १.९६ प्रतिशत माछाको हिस्सा छ।
हालै सम्पन्न बजारको २१औं वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक शर्माले बजारमा कारोबार भएको तरकारीमध्ये २७.२९ प्रतिशत तरकारी भारतबाट आयात भएको बताए। बाँकी ७२.७१ प्रतिशत तराकारी भने नेपालकै विभिन्न जिल्लाबाट आउने गरेको छ।
 कालीमाटी तरकारी बजारमा सबैभन्दा बढी धादिङबाट १६.५३ प्रतिशत तरकारी भित्रिएको छ। काभ्रेबाट १३.७४ प्रतिशत, चितवनबाट ५.१२ प्रतिशत र उपत्यकाबाट १० प्रतिशत तरकारी भित्रिएको थियो।
 यस अवधिमा मकवानपुरबाट ७.५० प्रतिशत, सर्लाहीबाट ३.९९ प्रतिशत, पर्साबाट २.११ प्रतिशत, झापाबाट २.९ र नुवाकोटबाट २.९ प्रतिशत तरकारी भित्रिएको समितिले जनाएको छ।
 उपत्यकाको मागलाई कालीमाटी तरकारी बजारले थेग्न समस्या परेकाले बजार विस्तारका लागि समितिले चोभारमा ११ करोड रुपैयाँमा २४ रोपनी एक आना र धादिङको नौबिसेमा चार रोपनी पाँच आना जग्गा खरिद गरेको निर्देशक शर्माले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, फाल्गुन ६, २०७१