सोमवार, जेष्ठ २२, २०८०

कृषि सेवा केन्द्र भवन मर्मत

कञ्चनपुर, ४ फागुन । कृषि विकास कार्यालय कञ्चनपुरले तीन दशकपछि मातहतका तीनवटा कृषि सेवा केन्द्र भवन मर्मतको कार्य सुरु गरेको छ ।

झलारी, कृष्णपुर र बेलौरीमा रहेका तीनवटा कृषि सेवा केन्द्र भवन मर्मतको कार्य सुरु गरेको हो । मर्मतको अभावमा सेवा केन्द्र जीर्ण बन्दै गएका कारण कार्य सञ्चालनमा अवरोध हँुदै आएको थियो ।
केन्द्रका भवन चुहिने र झ्यालढोका जीर्ण बन्दा कर्मचारीले असुरक्षा महसुस गर्दै आएका थिए । प्रतिसेवा केन्द्र मर्मतका लागि रु एक लाख ५० हजारदेखि रु दुई लाख गरी बजेटको व्यवस्था मिलाई मर्मतको कार्य हुन थालेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताएका छन् ।
“तीनवटै सेवा केन्द्रका लागि गरी रु छ लाख बजेटको व्यवस्था मिलाई ठेकेदारमार्फत मर्मतको कार्य थालेका उनले बताए । मर्मत कार्यअन्तर्गत झ्यालढोका मर्मत, प्लास्टर गर्ने, विद्युत् लाइन मर्मत, गेट निर्माण गर्ने, रङ्गरोगन गर्ने र सडक बनाउने कार्य भइरहेको समते उनले जानकारी दिए ।
विसं २०४६ पछि निर्माण गरिएका सेवा केन्द्रको मर्मत हुन सकेको थिएन । पूरै भवन मर्मत गर्नका लागि कार्यालयसँग बजेट अपुग भएकाले हालका लागि कर्मचारीले केन्द्रबाट कार्यक्रम सञ्चालन गर्न सक्नेसम्म हुने गरी भवन मर्मत गरिएको उनको भनाइ रहेको छ । केन्द्रका तालिम हलसहित छ कोठे भवन रहेका छन् ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ४, २०७१