शुक्रबार, चैत्र १६, २०८०

लेखेर के गर्नुहुन्छ? पैसा दिनुहुन्छ?

jhapaझापा-‘यो लेखेर के गर्नुहुन्छ? पैसा दिनुहुन्छ?,’ कुराकानीको प्रस्ताव गर्दा भद्रपुर नगर र ज्यामिरगढीको सीमामै रहेको चिया बगानकी मजदुर मनिका हेमरमले प्रतिप्रश्न गरिन्, ‘जो आउँछ यस्तै सोध्छ, बाटोमा हिँड्नेले फोटो खिचेर लान्छ। त्यसले हामीलाई के फाइदा?’
 मनिकाले कुराकानीमै झिँजो मान्नुको कारण अर्कै रहेछ। कहिले रिपोर्टिङ भन्दै सञ्चारकर्मी, कहिले प्रशिक्षण भन्दै राजनीतिक दलका नेता, कहिले स्थलगत अनुसन्धान भन्दै विद्यार्थी उनले काम गर्ने बगानमा पुग्छन् र धेरैबेर काम बिथोलेर जान्छन्। कतिपय बटुवा चिया बगानको दृश्य क्यामेरामा कैद गर्न उनीहरुकै अनुहार प्रयोग गर्छन्। फोटो खिच्छन्, कुराकानी गर्छन्। हरेकपटक आफ्नो कथा सुनाउन उनी र उनी जस्तै मजदुर राजी भइदिन्छन्। तैपनि आफ्ना गुनासा सम्बोधन नहुँदा उनीहरुमा पोखिने गरी आक्रोश उम्लिएको छ।
छिमेकी मिलेर बनाएको समूहबाट लिएको ऋणको साप्ताहिक किस्ता उनले जसरी पनि जुटाउनै पर्छ। काखेनानी र डाँडामाथिको घाम जस्ता बृद्ध सासु–ससुराको उपचार खर्च नबेहोरी सुख छैन। त्यसमाथि शारीरिक अपांगता र सुस्त मनस्थितिका छोराको उपचार खर्च जुटाउने पिरलोले उनीसामु निराशाको पहाडै खडा गरिदिन्छ। लत्ताकपडा, नुन, तेल जता फर्के पनि पैसै चाहिन्छ। ट््युवेल गाड्ने काममा सक्रिय पतिले महिनामा मुस्किलले एक साता काम पाउँछन्। ‘अनि बेला न कुबेला तपाईंको अवस्था के छ भन्दै सोध्ने मान्छे आउँछन्,’ उनी भन्दै गइन्, ‘कसैले गर्दिने केही होइन, बित्थामा आफ्नो दुःख किन सुनाउनु?’
बिहान सात बजेदेखि साँझ ५ बजेसम्म चिया बगानमा घाोटिँदा उनले २ सय १ रुपैयाँ हात पार्छिन्। तर उनको दैनिक खर्चको सूची लामो छ। उनको भाषामा यो ‘खर्च’भन्दा पनि बढी ‘दुःख’ हो। किनभने आम्दानीको स्रोत भन्नु दिनभर चियाबगानमा घोटिँदा प्राप्त हुने ‘हाजिरा’ मात्रै हो। ‘दिनभरि घोटिँदा २ सय १ रुपैयाँ पाइन्छ,’ ज्यामिरगढी–४, सुकुमबासी टोल निवासी उनी भन्छिन्, ‘जति नै गर्दा पनि अवस्था कहिल्यै सुधे्रला जस्तो छैन। महँगी सधैं बढ्छ, हाम्रो ज्याला र सुविधा ५–१० वर्ष नभई बढ्दैन, के गर्नु र!’
मजदुरका अनुसार पछिल्लो १५–१६ वर्षमा दैनिक ज्याला बढ्दै नबढेको होइन। तर नाममात्रैको वृद्धिले दैनिक आवश्यकता धान्न पनि मुस्किल पर्ने उनीहरु बताउँछन्। सुरुमा ४८ रुपैयाँ दैनिक ज्यालामा काम गर्न थालेका मजदुरले ७४ रुपैयाँमा ८ वर्ष काम गरे। त्यसपछिको ४ वर्ष ९५ रुपैयाँमा गरे। अनि ६ वर्ष १ सय ५८ रुपैयाँ पाए। एक वर्षअघि ठूलो संघर्षपछि कार्यान्वयन भएको २ सय १ रुपैयाँ ज्यालाले पनि मजदुरको मुहारमा खुसी ल्याउन सकेको छैन।
लामो समयदेखि पूर्वको चिया बगानमा आश्रित भएर गुजारा चलाउने मजदुरको संख्या १२ हजारभन्दा बढी छ। तर सधैं बढ्ने महँगीको दाँजोमा उनीहरुको ज्याला निकै कम बनिदिन्छ। दिनरात नभनी घोटिँदा पनि उनीहरुलाई हातमुख जोर्नै हम्मे पर्छ। ‘२–३ हजार रुपैयाँ दबाई गर्न चाहियो भने पनि ऋण नखोजी धर छैन,’ मेचीनगर ११ की हपनबाई हेमरम भन्छिन् ‘यति मेहनत लाउँदा पनि अवस्था जस्ताको तस्तै।’
ज्वरो, रुघाखोकी जस्ता सामान्य समस्या त परको कुरा सुत्केरी ज्यान लिएर बगानमा मजदुरी गर्न बाध्य महिला पनि टन्नै छन्। ‘जिउ पनि राम्ररी बाँधिन पाएको छैन काममा लागिहाल्नुपर्छ,’ डेढ महिने सुत्केरी मेचीनगर ८ की सुजाता विक भन्दै थिइन्, ‘यति गर्दा त पेट पाल्न धौ–धौ हुन्छ।’ माघको जाडोमा त्यो बच्चा काखी च्यापेरै उनी बिहान सबेरै टोकला चिया बगानमा काम गर्न जान्छिन्।

मेचीनगर १३ की रीना क्षेत्रीको बाध्यता पनि विकको जस्तै छ। उनको पनि घरमा बच्चा स्याहार्ने कोही नभएकाले आफूसँगै बगान लान्छिन्। श्रीमान विदेशमा छन्। घरमै बच्चाको स्याहार गर्न थाले सुत्केरी ज्यान धान्ने आहारा जुटाउने माध्यम अरु छैन। त्यसैले शिशुुलाई साथै लानुपर्ने बाध्यता उनलाई छ।

मेचीनगरको टोकला चिया बगानमा हरेक दिन ३० भन्दा बढी आमा काखेनानी च्यापेरै काममा हाजिर हुन्छन्। ‘काम नगरे माम हुँदैन,’ मजदुर कमला खनाल भन्छिन्, ‘जाडो होस् या गर्मी जे भए पनि बच्चालाई सँगै ल्याउनुपर्ने बाध्यता छ।’ बगान व्यवस्थापनले मजदुरका नानी हेर्न धाइआमाको व्यवस्था गरिदिएको छ। उनीहरु दिनभर तिनै बच्चाको स्याहारसुसार गरेर बस्छन्। १० जना बराबर ३ जना धाइआमाको व्यवस्था छ। – राजु अधिकारी 

प्रकाशित मिति: शनिबार, फाल्गुन २, २०७१