बिहिबार, चैत्र १५, २०८०

बीमा समितिको निर्देशन टेरेनन्, कृषि शाखा खोलेनन्

bunaकाठमाडौं,  माघ । कृषि क्षेत्रमा निकै नै चर्चा बटुल्न सफल भएको कृषि तथा पशु बीमाले सोचेअनुरुप सफलता हासिल पार्न सकेको छैन । कृषि बीमालाई कार्यान्वय गराउने कार्यमा बीमा समितिका पदाधिकारीहरु चासो नदिएका कारण कृषि बीमाले सफलता पाउन नसकेको व्यवसायिक किसानहरुले आरोप लगाउन थालेका छन् । बीमा समितिले दिएको निर्देशनलाई अटेर गर्ने बीमा कम्पनीहरुलाई समितिले कुनै पनि कार्वाही नगरेका कारण बीमा कम्पनीहरुमा कृषि बीमा गरेपनि ठिकै नगरेपनि ठिकै भने झै लागि परेका छन् ।
कृषि विकास मन्त्रालयका पदाधिकारीहरुले हरेक जिल्ला जिल्लामा आम किसानहरुलाई कृषि बीमाका बारेमा जानकारी गराउन थालेको भएपनि किसानहरु बीमा कम्पनीमा पुग्दा आफ्नो पशु तथा बालीको बीमा गर्न कतिपय स्थानका इन्कार गरेका कारण रित्तो फर्कनु परेको सिन्धुपाल्चोक जिल्लामा व्यवसायिक रुपमा चौरीपालन गरिरहेका किसान अर्जुन तामाङ्गले कृषिसँग गुनासो गरेका छन् । तामाङ्ग भन्छन् सरकारले कृषि बीमा गर्नुपर्दछ भन्छ तर कहाँ गएर बीमा गर्ने कुरा भन्दैन । कुन बीमा कम्पनीले गर्दछ भन्ने कुरा धेरैलाई थाहा छैन । बीमा कम्पनीहरुमा पशु तथा बाली बीमाका लागि जाँदा अहिले हुँदैन भन्दै फर्काउँछन् । बीमा कम्पनीले हुँदैन भनेपनि कहाँ जाने ?
हुन पनि कृषि विकास मन्त्रालयले दुई बर्ष अगाडि २०६९ माघ १ गतेदेखि कृषि बीमा लागू गरेको भएपनि समन्वयको अभाव र बीमा समितिको फितलो निर्देशनका कारण कृषि बीमाले सोच अनुरुप परिणामा पाउन नसकेको होइन बीमा केही कम्पनीका उच्च अधिकारीहरु र बीमा समितिका केही पदाधिकारीहरुको मिलेमतोमा नै कृषि बीमा असफल बनाउने प्रयास गरिन लागेको बीमा समिति कर्मचारीहरु बताउँछन् ।
बीमा क्षेत्रको निमायक निकायका रुपमा रहेको बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमाको व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले माघ २३ गतेभित्र कृषि शाखा खोल्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको मिति सकिएको छ । सो अवधिभरमा कुनै पनि कम्पनीले बीमा सतितिले दिएको निर्देशन बमोजिमको कृषि शाखा स्थापना गरेका छैनन् । बरु कम्पनीहरु कृषि शाखा स्थापनाका लागि म्याद थप गर्ने प्रयासमा समय लम्ब्याउने तर्फ उन्मूख भएका छन् । यसले के देखाउँछ भने बीमा कम्पनीहरु कृषि बीमा लागू गर्ने पक्षमा देखिएका छैनन् ।
कृषि बीमा लागू कडाईका साथ गर्नका बीमा समितिको भूमिका स्पष्ट नभएको भन्ने गुनासोको बारेमा अध्यक्ष फत्त बहादुर के.सी सम्पर्कमा नै आउन चाहँदैनन् । तर, बीमा समितिका निर्देशक श्रीमान् कार्की भने कृषि शाखा स्थापना गर्नका लागि म्याद थप गर्ने विषयमा कुरा नभएकोले अवस्था हेरेर शाखा स्थापनाका लागि म्याद थप गर्न सकिने पनि बताउँछन् ।
दुई बर्षदेखि लागू गर्ने भनिएको कृषि बीमा कार्यान्वयलन हुनुमा बीमा समितिले नै सशक्त रुपमा प्रस्तुत नभएको र बीमा समिति कै उच्च पदाधिकारीका कारण यो नीति असफल भएको बीमा समिति स्रोतले बताएका छ । – योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, माघ २५, २०७१