बिहिबार, फाल्गुन १७, २०८०

दुई महिनापछि मन्त्रालयले पायो योजना प्रमुख

yogendra karkiकाठमाडौं,१८ माघ । कृषि विकास मन्त्रालयको योजना महाशाखामा रिक्त रहेको महाशाखा प्रमुखमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्र कार्की आएका छन् । करीव दुई महिनासम्म रिक्त रहेको सो पदमा आउनका लागि धेरैले प्रयास गरेको भएपनि अन्ततोगत्वा योगेन्द्र कार्कीले नै महाशाखा प्रमुख हुन पाएका पाए । कृषि साप्ताहिकको मंसीर २८ गतेको अंकमा योजना महाशाखामा प्रमुख विहिन भएपछि सो पदका लागि लिगलिगे दौडमा लागेकाहरुलाई उछिन्दै कार्की सो पदमा पुगेका हुन् ।
दुई महिनासम्म पद रिक्त रहँदा मन्त्रालयले योजनाका लागि योग्य व्यक्ति अभावका कारण रिक्त पदपूर्ति गर्न नसकेको र छिट्ट महाशाखा प्रमुख ल्याउने जनाएको थियो । विगतमा पनि करिव १० बर्षसम्म योजना महाशाखाको बजेट तथा कार्यक्रम शाखाका प्रमुखका रुपमा काम गरिसकेका कार्कीले जिल्ला कार्यलयदेखि कृषि विकास मन्त्रालयको सवैभन्दा ठूलो आयोजनामा समेत काम गरिसकेको अनुभवलाई मध्यनजर गर्दै महाशाखा प्रमुखमा ल्याइएको मन्त्रालयले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारदे सिएडिपी, कपास विकास समितिमा समेत काम गरिसकेका कार्कीको कृषि क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय दातृनिकायसँग समेत राम्रो सम्वन्ध रहेका कारण कृषि मन्त्रालयको योजना महाशाखाको उपयुक्त व्यक्तिका रुपमा उनलाई उभ्याइएको छ ।
कृषि विकास मन्त्रालयको योजना महाशाखा प्रमुखको जिम्मेवारीसँगै अर्को व्यवस्था नभएसम्मका लागि कार्कीलाई मन्त्रालयले व्यवसायिक कृषि तथा व्यापार आयोजनाको आयोजना निर्देशक यथावत रहने गरी जिम्मेवारी दिएको स्रोतले बताएको छ । कार्कीलाई दिएको दोहोरो जिम्मेवारीसँग कृषि विकास मन्त्रालय भित्र प्याक्ट योजना धान्न सक्ने सहसचिवको खोजी भईरहेको मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति: आइतवार, माघ १८, २०७१