शनिबार, बैशाख १, २०८१

कृषि सेवा प्रदायक संस्था लथालिङ्ग

पथरी, १८ माघ । मोरङको उर्लाबारी–२ मा रहेको कृषि सेवा कार्यालयको भवन पुनःनिर्माण नगर्दा सेवाग्राहीलाई समस्या परेको छ । सो कार्यालयमा कर्मचारीको नियमित उपस्थिति नहुँदा पूर्वी मोरङको एकमात्र कृषि सेवा प्रदायक संस्था लथालिङ्ग र गतिहीन बनेको हो । दुईतले पक्की भवनसहितको कार्यालयमा एउटा साइनबोर्डसमेत नहुँदा सेवाग्राहीहरु अन्योलमा पर्ने गरेका छन् । कार्यालय पुग्ने जो कोहीलाई निजी घर हो या कार्यालय छुट्याउनसमेत समस्या परेको छ । काम लिएर धाएको एक महिनासम्म सो कार्यालय धाउँदा पनि कुनै कर्मचारी नभेटिएको निशा दाहालले बताए ।
पूर्वी मोरङका कृषकलाई लक्षित गरी २०४० सालमा स्थापना गरिएको सो कृषि कार्यालय भवन जीर्ण बन्दै गएको छ भने त्यहाँ कार्यरत कर्मचारी सेवामुखी नभएको स्थानीयवासीको आरोप छ । सो भवनलाई सरकारी कार्यालय भन्न पनि लायक छैन । रङरोगन गरिएको छैन यत्रतत्र फोहर थुपारिएको छ । मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिका, राजघाट, मधुमल्ला, जाँते, रमितेखोलालगायत कार्यक्षेत्र भएको कृषि सेवा कार्यालयले कृषकको हितमा कुनै जनमुखी कार्यक्रम ल्याएको थाहा नभएको स्थानीय नरनाथ दाहालले बताए।
कीटानाशक औषधि मल, बीउलगायतका बारेमा परामर्श लिन जाने कृषक कर्मचारी नभेटिँदा निरास बन्दै फर्कने गरेका छन् । उर्लाबारी–२ का ७० वर्षीय नवराज कार्कीले कार्यालयबाट आफूहरुले कुनै काम नलिएको बताए । कार्यालयको लथालिङ्ग अवस्था र कृषकको गुनासाका बारेमा सो कार्यालयका प्रमुख मोहन मिश्रले अनभिज्ञता प्रकट गर्दै आफूहरुबाट कुनै लापर्बाही नभएको बताए । जिल्ला कृषि कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले कर्मचारीको काम नै कृषकको घरघर पुग्ने भएकाले कामको सिलसिलामा फिल्डमा गएको हुनसक्ने बताए । रासस

प्रकाशित मिति: आइतवार, माघ १८, २०७१