बिहिबार, फाल्गुन १७, २०८०

आफ्नै जग्गा उपभोग गर्न पाएनन्

पर्सा, १७ माघ । पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् ।
सीमावर्ती भारतीय क्षेत्र बङ्गाहा स्थानीयले नेपालीले लगाएको अन्नपातसमेत आफ्नो भूभागमा परेको भन्दै खोसेर लान थालेपछि स्थानीय मारमा परेका हुन् ।
सो स्थान भएर बहने ओरिया नदीमा राखिएको सीमा स्तम्भ जीर्ण भएका कारण र बाढीले बगाइदिएका कारण भारतीय पक्षले बलमिचाइ गरी लगाएको बालीसमेत कब्जा गर्ने गरेको स्थानीयले गुनासो गरे ।
सो स्थानमा दुईवटा पिलर ४२३ र ४२४ रहेकोमा ४२३ बाढीले बगाइदिएको र ४२४ पनि संरक्षणको अभावमा ढलेका कारण सीमा छुट्ट्याउन समस्या भएको स्थानीय श्याम महतोले बताए ।
नेपाली भूमिमा रहेको ओरिया नदीबाट समेत भारतीय पक्षले खुलेयाम गिट्टी तथा बालुवा आफूको क्षेत्रमा रहेको भन्दै खुलेयाम लाने गरेको पनि उनको भनाइ छ ।
सीमामा देखिएको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकारीस्तरबाटै ठोस प्रयास आवश्यक रहेको जिल्लाको पिडारीगुठीसहित सीमा क्षेत्रका स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७१