शनिबार, बैशाख ८, २०८१

कालिमाटी तरकारी बजारमा ठूला व्यापारीलाई मस्ती साना किसानलाई सास्ती

kalimati bazarकाठमाडौं, १४ माघ । काठमाडौंको मुख्य बजारमा रुपमा मानिने कालिमाटी फलफुल तरकारी बजार ठूला व्यापारीहरुका लागि हव केन्द्रका रुपमा स्थापित हुँदै आएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सो बजारलाई व्यवस्थित गर्न लाग छुट्टै नीति नियम बनाएको बताए पनि आफैले बनाएको नीति नियम पालन गराउन सकेको देखिँदैन । जसका कारण ठूला व्यापारीलाई मस्ती र साना किसानहरुलाई सास्ती भएको छ ।
हुन त सो बजारले एक डोको तरकारी वा साग बेच्ने किसानदेखि करोडौंको कारोबार गर्ने व्यापारीहरुलाई समेत विक्रीका लागि स्थान उपलब्ध गराएको भनिएपनि साना किसानहरु अझै पनि मारमा परेका छन् । साना किसानहरुका लागि उपलब्ध गराइएको भनिएको टहरामा पनि ठूला व्यापारीहरुले कब्जा जमाएको देखिन्छ ।
कालीमाटी बजार भित्र तरकारी तथा फलफूल विक्री केन्द्र जसको नाममा भाडामा उपलब्ध गराइएको छ त्यो उसैले व्यापार गर्नुपर्ने भएपनि सो क्षेत्रमा त्यसो भएको देखिँदैन । कालीकामाटी बजारमा स्थान ओगट्न केही ठेकेदारहरुको मिलेमतोमा हाल व्यवसाय सञ्चालन गरिरहेकाहरुले अन्त्यन्तै चर्को मूल्य भाडा तिरेर बस्नु पर्ने वाध्यता भएको साना व्यवसायीहरुले कृषि अनलाईनसँगको कुराकानीमा बताएका छन् ।
भन्ने बेलामा साना व्यापारी भनिएपनि ठाउँ लिने अर्कै छ । सिँधै समितिलाई हामीले भाडा तिर्न पाउँदैनौ । हामीले ठेकेदारलाई भाडा बुझाउँछौं उसले कति बुझाउछ भन्ने कुरा हामीलाई थाहा छैन । बुझे अनुसार हामीले ठेकेदारलाई तिरेको भन्दा तीनगुना कम भाडा समितिले पाउँछ रे ? एक व्यापारीले बताए ।
तर कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक टिकाराम शर्मा त्यो कुरा स्वीकार गर्दैनन् । केही व्यक्तिहरुले ढाँटेर त्यस्तो कार्य गरेको हुन सक्छ । त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि नै आफूहरुले पौष २ गतेदेखि अनुगमन समेत गर्दै आएको उनको भनाई छ । तर अनुगमनका क्रममा साना किसानहरुलाई दिएको स्थानमा ठूलो व्यापारीहरु भेटिएको समितिका विनय श्रेष्ठले स्वीकार गरेका छन् । हामीले गरेको अनुगमनमा त्यस्तो जसको नाममा सम्झौता भएको छ उसले नलिएकोफेला परेमा प्रहरीको मद्दत समेत लिएको बताउँछन् ।
साना किसानहरुलाई मर्का नपरोस् भनेर नै हामीले अनुगमन गर्दै आईरहेका श्रेष्ठले बताए । समितिले अनुगमन गरे पश्चात बजार क्षेत्र व्यवस्थित हुँदै गईरहेको समेत उनले बताए । – कमला नेपाल

प्रकाशित मिति: बुधबार, माघ १४, २०७१