आइतवार, मंसिर २४, २०८०

नार्कको कार्यकारी निर्देशकका लागि तीनको भिडन्त कसले मार्ला बाजी

narcकाठमाडौं,२ माघ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकका लागि छानिएका ५ जना मध्ये तीन जनाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा निर्णयका लागि सिफारिस गरिएको छ । सिफारिस भएका मध्ये यमराज पाण्डे, मिननाथ पौडेल, बैधनाथ महतो रहेका छन् ।
मन्त्रालयले सिफारिस गरेका व्यक्ति मध्ये यमराज (युवराज पाण्डे) को नाम कार्यकारी निर्देशकका लागि कृषि मन्त्री हरिप्रसाद पराजुलीले गत विहीबार बसेको मन्त्रीपरिषद्मा पेश गरेको भए पनि निर्णय हुन सकेन । मन्त्री पराजुलीले नार्कको कार्यकारी निर्देशकका लागि पदपूर्ति समितिको सिफारिसका आधारमा तीन जना मध्ये पाण्डे नै कार्यकारी निर्देशकका लागि उपयुक्त भएकोले निर्णयका लागि प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको विशेष सूत्रले बताएको छ।
मन्त्री हरिप्रसाद पराजुलीले पाण्डेको नाम निर्णयका लागि प्रस्ताव गर्ने वित्तिकै भौतिक मन्त्री विमलेन्द्र निधिले पाण्डेका विरुद्ध नार्क भित्रैबाट विभिन्न निकायमा उजुरी परेका कारण पनि कुनै हालतमा पनि पाण्डेको नाम स्वीकार नहुने बताएपछि मन्त्रीपरिषद्मा विवाद भएको स्रोतले दावी ग¥यो ।
सिफारिसमा परेका बैधनाथ महतोलाई किन तेस्रो नम्वरमा राखिएको हो भन्दै निधि आक्रोशित बन्दै मन्त्री पराजुलीलाई प्रश्न राखेपछि विवाद बढ्न थालेको थियो । त्यस्तै गृहमन्त्री बामदेव निकट मानिएका मिननाथ पौडेलका पक्षमा हरिप्रसाद पराजुली नदेखिएपछि बामदेव गौतमले कार्यकारी निर्देशक नियुक्ति प्रस्ताव रोक्न माग गरेपछि सो प्रस्ताव नै स्थगित गरिएको विशेष स्रोतले कृषि अनलाईनलाई बताएको छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७१