शनिबार, बैशाख १, २०८१

नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था र चुनौती

bharat bir raiसत्ययुगको उत्तरार्धतिर विश्वामित्र ऋषिको पालादेखि नै कर्षण (कृषि) कार्यको सुरुआत भएको शास्त्रमा प्रमाण पाइन्छ । जीवनको मुल आधारनै कृषि हो । यसमा कुनै शंका छैन । कर्षण र घर्षणमा ठूलो सम्बन्ध रहेको छ । आदि मानवहरु काँचै अन्न खान्थे । पछि प्राकृतिक प्रकोप हुँदा रुखपातहरुको घर्षणले आगोको उत्पत्ति भयो । आगोमा पोलेको अन्न खाँदा स्वादिष्ट भयो । यसैले गर्दा अन्न पोलेर उसिनेर वा पकाएर खान मानिसले सिकेको हो ।

यस कृषि कार्यको विकास तर्फ हेर्दा गोरु र राँगाका काँधदेखि लिएर पावरटिलर र टूेक्टर र प्रांगारिक मलदेखि लिएर रशायनिक मलसम्म मात्र पुगेको छ । यस पुनित कार्यको सुधार र सम्वद्र्धनमा मानिसले जानेका कुरा धेरै छन् । तथापि उ गर्दैन । बोटविरुवालाई चाहिने मुख्य कुरा पानी हो । कुलोनाला बनाएर सिंचाइ गर्नुको साटो उ वर्षेपानी पर्खिरहन्छ । पात पतिंगर कुहाएर मल बनाउनुको साटो उ रशायनिक मल किन्न विदेशसम्म पनि पुग्छ । किरा मकौडा देखेर हातले टिप्न फ्याँक्न घीन मान्छ अनि विषदि छर्नतिर लाग्छ । जनसंख्या बढेपछि यो तेरो यो मेरो भावनाले जग्गाको साँध किल्ला (डिल आलि) लगाउन थाल्दछ । यसले गर्दा कृषि (जग्गा) को क्षेत्रफल नै घट्यो । उत्पादित वस्तु(अन्न) भण्डारण गर्ने समस्या छ, सो सरकारले हेरेकै छैन । जीवन वीमा जस्तै कृषि वीमा हुन पर्नेमा यदाकदा नगण्य रुपमा थालनी मात्र भएको छ । वालीको समय छँदै उत्पादन खर्च समावेश गरी मूल्य तोक्नु पर्नेमा सो सरकारले गरेकै छैन । यसले गर्दा उत्पादक र उपभोक्ता विच मूल्यको खाडल ठूलो छ । हरेक मानवको लागि चाहिने आवश्यक खाना कृषिबाटै उत्पन्न हुने कुरा किन मानिसले विर्सन्छ? शहरमा बसेर सुकिला मुकिला र केहि निर्णायक पदमा पुग्ने वित्तिकै कृषकको छोरा छोरीले कृषि क्षेत्रनै घृणा गर्न थाल्दछ भने कसरी यस क्षेत्रको विकास हुन्छ? हामी जस्तो विकासोन्मुख देशहरुले त कृषिमानै निर्वाह गर्नुपर्ने वाध्यता छ तर किन हामी यहि पेशालाई विकसित बनाउदैनौ ?
अहिलेको जल्दोबल्दो समस्या त लाठे(जनश्रमिक) नपाउनु हो । पैसाको लोभमा सब विदेशिएका छन् । सरकारी क्षेत्रबाट उत्पादित वीजनमा कृषकको विल्कुलै विश्वास छैन । वीजन उम्रिन गाह्रो मान्ने, उम्रे वडेमा पनि फलै नलाग्ने । बरु छिमेकी देश भारतको वीजनमा विश्वास मात्र होइन भर पनि पर्नु परेको छ । अहिले गाँउगाँउ टोल टोलमा च्याउसरी सहकारी संस्था खुलेका छन् । तर यसमा असली सहकारिताको भावना छैन, यो मात्र वैंकिङ कारोबार गर्ने वित्तिय शाखा बन्न पुगेको छ । संस्थाका सदस्यहरुले पर्मा सिस्टम अपनाई कृषि कार्यमा लागे पारिश्रमिक रकम र समयको पनि वचत हुने थियो । कृषिजन्य उद्योगहरुमा सरकारले विल्कुलै ध्यान दिएको छैनः उदाहरणको लागि जूटमिल, चिनी मिल आदि । यस्ता उद्योगलाई सरकारले कि त आफैं चलाउन प¥यो कि त स्पष्ट नीति निर्देशन बनाएर निजिक्षेत्रलाई दिनु प¥यो । यसमा ढिलाइ भइसकेको छ । बजार र वितरणको हकमा खासै
समस्या नभए पनि बिचौलिया( दलाल) हरुले नेपाल खाएको छ भन्ने बुझेमा बेस होला । हाम्रो युवा शक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्ने खालका योजना ल्याई उक्त कार्यक्रम र नीतिको पनि आवश्यक कार्यान्वयन र मूल्यांकन गर्न जरुरी छ । यहाँ त कृषि क्षेत्रलाई दिइने अनुदान पनि वास्तविक कृषकको भन्दा अवास्तवीक कृषकको पोल्टामा पर्छ नत त्यो कुरा वास्तविक कृषकलाई नै थाहा छ । हरेक योजनामा कृषि क्षेत्रको विकासलाई छुट्याइने बजेट पनि नगण्य छ । साँच्चै हाम्रो देशको विकास गर्ने हो भने पहिला कृषकको मनोवल र प्रतिष्ठा बढाउदै कृषि क्षेत्रको आधुनिकरण व्यवसायिकतामा ध्यान दिन जरुरी छ । -भरतवीर राई

प्रकाशित मिति: आइतवार, पुस २७, २०७१