बुधबार, बैशाख १२, २०८१

समीरका कारण किसान दंग

Yair_Shamirकाठमाडौं,२६ पुस । दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका इजरायली कृषि मन्त्री याइर समीर आफ्नो भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । समीर स्वदेश फिर्ता भएपनि नेपालमा उनले दिएको आश्वासनले इजरायलबाट कृषि क्षेत्रमा काम गरेर फर्केका र कृषि क्षेत्रमा नै संलग्न व्यवसायिक किसानहरु भने फुरुङ्ग बनेका छन् ।
नेपालको कृषि क्षेत्रको प्रशंसा गर्दै समीरले नेपाललाई प्रविधिमा सघाउने प्रतिवद्धता जनाएपछि नेपाली कृषि क्षेत्रमा पनि प्रविधिले केही फड्को मार्ने हो कि भन्ने संकेत देखिएको छ । तर, प्रविधिमा सघाउने उनको भनाईले तवमात्र सार्थकता पाउने छ जव नेपालमा दुई देशबीच प्रविधि भित्र्याउने विषयमा हस्ताक्षर हुने छ ।
हुन त कृषि मन्त्री समीरले कृषि विकास मन्त्रालयमा आयोजित कार्यक्रममा पनि कृषि क्षेत्रको विकासका लागि इजरायली सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता मात्र जनाएनन् कि प्रशिक्षाथी कामदारका रुपमा नेपाली युवाहरुलाई कृषि प्रविधिको सीप सिकाउनका लागि सहयोग गरिरहेको र अझ गर्न तयार रहेको समेत बताएका थिए ।
मन्त्री समिरले नेपालको कृषि क्षेत्रको विकासका लागि प्रविधि हस्तान्तरणका माध्यमबाट दुई देशको पारस्परिक हितका लागि आफुहरुले सक्दो सहयोग गर्ने समेत बताएकै कारण नेपाली किसान फुरुङ्ग भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७१