शनिबार, बैशाख ८, २०८१

इजरायली कृषि मन्त्रीले गरे कृषि मन्त्रालयमा छलफल नेपाललाई प्रविधिमा सघाउने

aaaकाठमाडौं,  पुस । नेपाललाई प्रविधिमा सघाउने प्रतिवद्धता इजरायली कृषि मन्त्री याईर समिरले गरेका छन् । दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका इजरायली कृषि तथा ग्रामीण विकास मन्त्री याईर समिरले कृषि विकास मन्त्रालयमा भएको मन्त्रीस्तरीय वैठकमा सो कुरा बताएका हुन् । मन्त्री समिरले नेपालको कृषि क्षेत्रको विकासका लागि प्रविधि हस्तान्तरणका माध्यमबाट आफूहरुले सक्दो सहयोग गर्ने बताएका हुन् । साथै उनले दुई देशको पारस्परिक हितका लागि आफुहरुले सक्दो सहयोग गर्ने समेत बताए ।
सो वैठकमा कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकासका लागि दुवै देश वीच आपसी हितका लागि ज्ञान र सीपको आदानप्रदानका माध्यमबाट पनि साझेदारीतालाई अगाडि बढाउनु पर्ने बताए । मन्त्री पराजुलीले इजरायलीमा कृषि प्रविधि अध्ययनका लागि प्रशिक्षार्थीहरुको संख्या बढाउनु पर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा इजरायली राजदूत यारोन मायोरले सहकारीताका माध्यमबाट कृषि क्षेत्रको विकास गर्न सकिने धारणा राख्दै इजरायली प्रविधि विस्तारमा नेपालले धेरै नै काम गरिसकेको समेत बताए । नेपाल र इजरायलबीच दुग्धजन्य उत्पादन र व्यवस्थापन, सिंचाई, बागवानी प्रविधि, जैविकखेती, यान्त्रिकरण जस्ता प्रविधिमा सहयोग गरिरहेको समेत बताए ।
मन्त्री स्तरीय वैठक पश्चात कृषि सचिव जयमुकुन्द खनालले निजी क्षेत्रको विकास, अनुसन्धान एवं इजरायली प्रविधि भित्रयाएर मुलुकको कृषि क्षेत्रको विकास गर्न सजिलो हुने बताए । इजरायली प्रविधिलाई नेपालमा भित्रयाउने सक्ने हो भने पनि कृषि उपज उत्पादनको लागत मूल्य कम गर्न समेत यसले ठूलो मद्दत पुग्ने सचिव खनालले बताए ।
सो मन्त्रीस्तरीय वैठकमा इजरायली १२ सदस्यीय टोलीको सहभागीता रहेका थियो भने नेपालका तर्फबाट पनि कृषि विकास मन्त्रालय मातहतका उच्च अधिकारीहरु, उद्योग बाणिज्य महासंघका प्रतिनिधि, कृषि सहकारी संघका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहिबार, पुस २४, २०७१