शुक्रबार, चैत्र १६, २०८०

पशु उत्पादनका लागि १८ लाख अनुदान

CAइलाम, २२ पुस । जिल्ला पशु सेवा कार्यालय इलामले युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रमअन्तर्गत यस वर्ष १० जना युवालाई रु १८ लाख अनुदान दिने भएको छ ।

कार्यालयले आठवटा गाई फार्म तथा दुईवटा बङ्गुरपालनका लागि अनुदान दिने भएको हो । बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष गरी पशुपालनसम्बन्धी कुनै पनि व्यवसाय सञ्चालन गर्नका लागि अनुदान दिने भएको हो ।
अनुदानका लागि गाईपालन, बङ्गुरपालन दुईवटा कार्यक्रमका लागि मात्र यस वर्ष अनुदानको कार्यक्रम केन्द्रबाट आएको जिल्ला पशुसेवा कार्यालय इलामका पशु प्राविधिक डीकबहादुर कार्कीले बताएका छन् ।
कार्यालयमा जिल्लाका सबै गाविसबाट परेका निवेदन छनोट गरी कम्तीमा तीन वर्षसम्म कुनै पनि व्यवसाय सञ्चालन गर्न सक्ने व्यक्तिलाई मात्र अनुदान दिने प्रावधान रहेको छ ।
पशुसेवा विभागले ग्रामीण भेगका युवालाई गाउँ÷गाउँमै रोजगारी दिने उद्देश्यले यस्तो कार्यक्रम गएको वर्षदेखि नै ल्याएको हो । कार्यक्रमका लागि कार्यालयमा अहिले धमाधम निवेदन आइरहेको बताइएको छ । परेका निवेदनलाई जिल्लास्थित कृषि समन्वय समितिको बैठक बसेर समितिले छनोट गर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २२, २०७१