शुक्रबार, बैशाख ७, २०८१

कृषि मन्त्रालयका कार्यक्रमको प्रगति न्यून

काठमाडौँ, १८ पुस । सरकारले कृषि विकासका लागि अगाडि सारेका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन ।
कृषि विकास मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको पहिलो चौमासिक प्रगति समीक्षामा देखिएका तथ्याङ्कले सोही कुरालाई देखाएको छ । मन्त्रालयले तयार पारेको चौमासिक प्रतिवेदनले मन्त्रालयको कुल भौतिक तथा वित्तीय प्रगति ३० प्रतिशतको हाराहारीमा रहेको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु २३ अर्ब २८ करोड ३१ लाख ७८ हजार बजेट विनियोजन गरेको छ । त्यसमा सरकारले आन्तरिक स्रोतबाट रु १६ अर्ब ९४ करोड ३६ लाख ३८ हजार र वैदेशिक स्रोततर्फ रु छ अर्ब ३३ करोड ९५ लाख ४० हजार कृषिको विकासका लागि परिचालन गरेको छ ।
विनियोजित बजेटमध्ये ९७ प्रतिशत विकास बजेटअन्तर्गत पर्दछ भने तीन प्रतिशत साधारण बजेट रहेको छ । यसैगरी कुल बजेटको ८९ प्रतिशत कार्यक्रम चालु खर्चबाट सञ्चालन हुन्छन् भने ११ प्रतिशत कार्यक्रम पुँजीगत खर्चबाट अगाडि बढाइने छ ।
मन्त्रालयले ३२ वटा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ भने दोस्रो प्राथमिकतामा नौवटा कार्यक्रम रहेका छन् तर दीर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय कार्यक्रमको वित्तीय प्रगति एक प्रतिशतभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगले कार्यक्रमको अख्तियारी दिन ढिला गरेका कारण सोचेजति उपलब्धि हुन नसकेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७१