बिहिबार, चैत्र १५, २०८०

कृषि कर्जा अनुदान लक्षित वर्गसम्म पुर्याउन निर्देशन

काठमाडौँ, १६ पुस । आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको कृषिलाई व्यवसायीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सरकारले उपलब्ध गराउने कृषि कर्जाको अनुदान लक्षित कृषकसमक्ष पु¥याउन कृषि तथा जलस्रोत समितिले निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कृषि विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई चालु आर्थिक वर्षको बजेटमा सरकारले कृषि कर्जामा दिने भनिएको अनुदानको ब्याज कति किसानले लिए र तीनको अवस्था कस्तो छ भन्ने विषयमा स्पष्ट जानकारी दिन पनि निर्देशन गरेको हो । समितिका सभापति गगन थापाले कृषि क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत संशोधन तथा अन्य प्रावधान तयार गरी लागू गर्नुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको बिमालाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने बताए।
उनले बजेटमार्फत सरकारले कृषकलाई उपलब्ध गराउने कृषि कर्जामा छ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने घोषणा गरेकाले त्यस्तो कर्जाको सुविधा कुन जिल्लाबाट कतिले लिएका छन् सो विषयमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिए । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्र व्यावसायीकरण नभएको उल्लेख गर्दै राज्यले अनुदान दिएरमात्र कृषि क्षेत्रमा आकर्षण बढाउने भन्दा यस क्षेत्रको विकास व्यवस्थित गरेर अगाडि बढाउने नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । सभासद्हरूले कृषि क्षेत्रमा जाने कर्जालाई प्रवाह गर्ने र त्यसका लागि सरकारले उपलब्ध गराउने अनुदानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि वाणिज्य बैंकहरूले सहयोग नगरेको धारणा राखे। सो अवसरमा राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले कृषि क्षेत्रमा बिमालाई आकर्षित गराउनका लागि ग्रामीण तथा कृषि क्षेत्र केन्द्रित गरेर बिमा गर्न पहल गर्ने कम्पनीलाई सञ्चालनका लागि अनुमति दिनुपर्ने बताए। उनले बिमा समितिले सञ्चालनमा रहेका बिमा कम्पनीलाई सीमित प्रतिशत तोकेर कृषि क्षेत्रमा बिमा गर्न निर्देशन जारी गरेर तत्कालको समस्यालाई समाधान गर्न सकिने सल्लाह दिँदै सुरक्षणका नाममा काम गर्दै आएका सहकारीलाई पनि अनुदानको कर्जा प्रवाह गर्ने अवसर दिनुपर्ने धारणा राखे।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७१