मङ्लबार, बैशाख ४, २०८१

इलाममा अलँैची बिरुवा बेचेर अढाइ लाख आम्दानी

इलाम, १६ पुस । खोल्सीको सुनको नामले परिचित अलैँचीको मूल्य प्रतिमन रु एक लाख बढी पाएपछि अलैँचीको बिरुवाको माग बढ्न थालेको छ । बिरुवा नर्सरी व्यवस्थापनमा सक्रिय इलाम जिर्मलेका किसानले बिजु बिरुवा उत्पादन गर्न होडबाजी गरेका छन् । जिर्मलेको तल्लो भू–भागमा समेत हुने स्थानीय जिर्मले प्रजातिका अलैँची बिरुवा बिक्रीका लागि जिर्मले सलकपुरमा घरघरमै नर्सरी स्थापना भएको छ । यहाँ उत्पादित अलैँचीका बिरुवा देशभर निकासी भइरहेको किसानले बताएका छन् । पूर्वी पहाडमा ढुसीजन्य कारणले अलैँची मासिने अवस्थामा पुगेपछि उत्पादन कम भएको र मूल्य आकाशिएको किसानको भनाइ छ । बेँसी क्षेत्र र कछाडमा समेत उत्पादन हुने जिर्मले जातको अलैँची यो वर्ष मात्र १५० मन फलाएर बिक्री गरेको स्थानीय किसान रोमस अधिकारीको भनाइ छ । यावा अलैँचीखेती तथा नर्सरीका व्यवस्थापक शमसेर राईले आफ्नो नर्सरीबाट गतसाल मात्र दुई लाख ५७ हजार बिरुवा बिक्री भएको बताउनुभयो ।
उहाँले डाले बिरुवाभन्दा बिजु बिरुवाको माग बढी भएकाले बिजु बिरुवाको उत्पादनमा किसान सक्रिय भएको बताउनुभयो । जिर्मले– ३ का किसान माधव खनालले प्रतिघर एक लाख बिरुवा उत्पादन हुने गरेको बताउनुभयो । यता अलैँचीको बिरुवामा सरकारले तोकेको रकम कम भएकाले बिक्रीमा समस्या भएको किसानको गुनासो छ । बजार र मागअनुसार प्रतिबिरुवा रु पाँचदेखि १२ सम्ममा बिक्री हुने गरेको उनीहरूको भनाइ छ । अलैँची मूल्यसँगै विस्तार अभियानले अलैँचीका निरोगी बिरुवाको माग बढेको हो । यो क्षेत्रमा २०० घर परिवार अलँैचीखेतीमा सक्रिय भएर लागेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७१