बिहिबार, चैत्र १५, २०८०

पन्ध्र प्रतिशत कृषकलाई मात्र वर्षभरि खान पुग्ने

सुर्खेत, १५ पुस । सुर्खेत जिल्लामा कृषि पेसामा लागेका कुल कृषकमध्ये १५ प्रतिशत कृषकलाई मात्र आफ्नै उत्पादनबाट वर्षभरि खान पुग्ने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्लामा बसोवास गर्ने जम्मा जनसङ्ख्याको ८७.८८ प्रतिशत मानिस कृषि पेसामा आबद्ध रहेकामा १५ प्रतिशत मात्र आफ्नो उत्पादनबाट बाह्रै महिना खान पुग्ने अवस्थामा रहेको राष्ट्रिय कृषि गणना –२०६८ को तथ्याङ्कले देखाएको छ । पछिल्लो तथ्याङ्कअनुसार बाँकी ८५ प्रतिशत कृषकमध्ये ४६ प्रतिशतलाई चारदेखि छ महिनासम्म आफ्नै उत्पादनबाट खान नपुग्ने देखिन्छ भने अरुलाई एकदेखि तीन महिनासम्म नपुग्ने २१ प्रतिशत रहेको छ । जिल्लामा कृषकले खेतीका लागि प्रयोग गरेको जग्गाको कुल क्षेत्रफल २७,६१०.७ हेक्टरबाट घटेर २७,२४१.३ हेक्टर रहेको छ । पछिल्लो समयमा दक्ष जनशक्ति विदेशिनु र उत्पादनमा चासो दिन छाडे पछि यस्तो स्थिति सिर्जना भएको हो । कृषि प्रधान मुलुकको एक जिल्लाको समग्र कुल उत्पादनले १५ प्रतिशत मात्रलाई खान पुग्छ भने अन्यले आयात भएको खाद्यवस्तुमा निर्भर हुनुपरेको छ । राष्ट्रिय कृषि गणनाबाट प्राप्त विवरणअनुसार जिल्लामा विगत १० वर्र्षमा कृषक परिवार सङ्ख्या ४८ हजार ३१४ बाट बढेर ५६ हजार ५७१ पुगेका छन् । यो अवधिमा खेतको क्षेत्रफलमा वृद्धि भएको छ भने पाखो बारीको क्षेत्रफलमा केही कमी आएको छ । खाद्यान्न बालीको क्षेत्रफल नगन्य रुपमा बढेको भए तापनि कोसेबाली, नगदेबाली, तरकारी बालीलगायतको उत्पादन र क्षेत्रफल उल्लेख्य रुपमा घटेको देखिन्छ ।
पशुपंक्षीको हकमा राँगा, भैँसी, हाँस, परेवाको सङ्ख्या विगतको तुलनामा घटेको छ । तर, खसीबाख्रा एक लाख ३६ हजार ८१७ बाट बढेर दुई लाख २९ हजार ७६३ र भेडाको सङ्ख्या दुई हजार ५०० बाट बढेर सात हजार ८२८ तथा कुखुराको सङ्ख्या ६७ हजार ३१५ बाट बढेर एक लाख ६५ हजार ४६५ पुगेको बताइएको छ । दश वर्र्षमा धानको उन्नत बीउ प्रयोग गर्ने कृषक १३.६७ प्रतिशतबाट बढेर १८.३१ प्रतिशत पुगेका छन् भने उन्नत तरकारीको बीउ प्रयोग गर्ने १७.५१ प्रतिशतबाट बढेर १८.५४ प्रतिशत पुगेका छन् । जैविक मलको प्रयोग गर्नेको सङ्ख्यामा पनि अत्यधिक वृद्धि भएको छ । जिल्लामा कृषि ऋण लिने २१ प्रतिशत रहेका र ४२ प्रतिशत कृषक ऋण लिन चाहने तर ऋण नपाएको भित्र पर्दछन् । सबैभन्दा बढी ऋण सहकारी संस्थाबाट ३३ प्रतिशतले लिने गरेका छन् भने उनका नातेदारबाट ३२ प्रतिशत ऋण लिने गरेको पाइएको छ । कृषि विकास बैंकबाट मात्र १३ प्रतिशत ऋण लिने रहेका छन् । जिल्ला तथ्याङ्क कार्यालय सुर्खेतका प्रमुख अवधेशकुमार शुक्लाका अनुसार जिल्लाका १८ प्रतिशत कृषकले आफ्नो उत्पादन बिक्री गर्न तथा आवश्यक परेको बेला कृषि सेवा लिन कम्तीमा एकदेखि दुई घन्टासम्म हिँड्नुपर्ने र ३७ प्रतिशत कृषकलाई दुई घन्टाभन्दा बढी समय लाग्ने गर्दछ ।

प्रकाशित मिति: मङ्लबार, पुस १५, २०७१