शनिबार, बैशाख ८, २०८१

प्युठान र सल्यानमा सुन्तला संरक्षण अभियानले उत्पादनमा वृद्धि

प्युठान, १४ पुस । सुन्तलाको उत्पादन बढाउन सरकारले केन्द्रीय कार्यक्रमअन्तर्गत राप्तीका प्युठान र सल्यानमा संरक्षण अभियान सुरु गरेको छ । सुन्तला उत्पादनका लागि उर्वर भूमि मानिएको यी दुई जिल्लासँगै धनकुटा र सिन्धुली जिल्लामा समेत संरक्षण अभियान सुरु गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।“जिल्लामा ६० हेक्टर क्षेत्रफलमा संरक्षण अभियान थालिएको छ ।” कार्यालयका बागवानी अधिकृत गणेश केसीले भन्नुभयो, “बाली संरक्षण निर्देशनालयले सञ्चालन गरेको कार्यक्रमले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।” सुन्तलाको बोट र बगँैचा व्यवस्थापनमा ध्यान नदिँदा उत्पादनमा कमी आएकाले अभियानमार्फत नै यी जिल्लामा संरक्षण अभियान चलाइएको बाली संरक्षण निर्देशनालयका प्रवक्ता दिनेशबाबु तिवारीले बताउनुभयो ।
रोगले उत्पादनमा कमी ल्याउने भएपछि अभियान सञ्चालनबाट सहयोग गर्ने गरेको प्रवक्ता तिवारीले उल्लेख गर्नु भयो ।“अभियानले गर्दा फूल र फल लाग्ने बेलामा समस्या आउन छोडेको छ ।” बागवानी अधिकृत केसीले भन्नुभयो, “कृषकको बगैँचामै पुगेर परामर्श तथा उपचारसमेत गर्ने गरेका छौँ ।” जिल्लामा अहिले सुन्तला बजारमा आउने समय चलिरहेको भन्दै कृषकले यसको भण्डारणमा सहयोग आवश्यक रहेको बताएका छन् । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि भएको भन्दै स्वर्गद्वारीका सुन्तला कृषक अमर घर्तीले यसको भण्डारण नहुँदा आफूहरूले बेमौसममा सुन्तला बिक्री गर्न नपाएको गुनासो गर्नुभयो । जिल्लामा गत वर्ष ७७४ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष वृद्धि भई ८०० मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि कृषकले सुन्तलाको उचित मूल्य नपाउँदा समस्यामा परेको कृषक घर्तीले बताउनुभयो ।
जिल्लामा उत्पादन भएको सुन्तलामध्ये ५० प्रतिशत सुन्तलामात्रै बजारमा आउने गरेको कार्यालयले जनाएको छ । जिल्लामा कुल सुन्तला उत्पादित क्षेत्रमध्ये ९७ हेक्टर राम्रो सुन्तला उत्पादनयोग्य क्षेत्र रहेको छ । यस्तै उत्पादित सुन्तला अधिकांश घरमै खपत हुने गरेको छ । नगदेबालीका रुपमा परिचित सुन्तलाले जिल्लामा अझैसम्म पनि व्यावसायिकता लिन सकेको छैन । स्वर्गद्वारी, तुषारा, ओखरकोट र मरन्ठामा गाविस सुन्तला पकेट क्षेत्रका रुपमा रहेका छन् । कार्यालयले सुन्तलाको विकासका लागि भन्दै पकेट क्षेत्र रहेका गाविसमा बर्सेनि नमुना नर्सरी उत्पादन, रोगको व्यवस्थापनमा सहयोग गर्दै आएको जनाएको छ । कार्यालयले गर्ने सहयोग आफूहरूका लागि अपुग रहेको कृषकको भनाइ छ । रासस

प्रकाशित मिति: सोमवार, पुस १४, २०७१