बिहिबार, चैत्र १५, २०८०

मासु उद्योगका लागि ५० प्रतिशत अनुदान दिइने

DSC03680पोखरा, १२ पुस । कृषिमन्त्री हरिप्रसाद पराजुलीले मासुजन्य उद्योगको स्थापना र बजारीकरणका लागि कृषि विकास मन्त्रालय सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ । पोखराको महतगौँडामा स्थापना भएको पोखरा हिमालयन मिट प्रालिको आज उद्घाटन गर्दै उहाँले मासु उद्योगको आधुनिकीकरणका लागि मन्त्रालयले ५० प्रतिशतसम्म अनुदान दिने बताउनुभयो । कृषि र पशु क्षेत्र अहिलेपनि परम्परागत र निर्वाहमुखी प्रणालीमा आधारित भएको विचार व्यक्त गर्दै उहाँले यसमा नीतिगत सुधार गरी व्यावसायिकरण गर्न नसकेसम्म किसानले अधिकतम लाभ लिन नसक्ने धारणा राख्नुभयो । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखरा हिमालयन मिट उद्योगले उपभोक्तालाई स्वस्थ मासु खुवाउने प्रयास गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । प्रालिका अध्यक्ष तेजबहादुर भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक केशव प्रेमी, प्रालिका उपाध्यक्ष शिव मल्ल, क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरी, गणेशकुमार श्रेष्ठ र डा अशेष भट्टराईलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
आजैदेखि व्यावसायिक उत्पादन सुरु पोखरा उपमहानगरपालिका–१७ महतगौँडामा स्थापित सो कम्पनीले आजैदेखि आफ्नो व्यावसायिक उत्पादन सुरु गरेको छ । पोखराका आमउपभोक्तालाई स्वस्थकर मासु खुवाउने उद्देश्यले स्थापित यस उद्योगले अन्तर्राष्ट्रियस्तर ‘३०४’ ग्रेडको स्टेनलेस स्टिलले बनेको अत्याधुनिक मेसिनले एक घण्टामा एक हजार कुखुरा प्रशोधन गर्नेछ । उद्योगले फ्रेस होल चिकेन, वोनलेस चिकेन, स्किनलेस चिकेन, व्रेस्ट पिस, लेग पिस, विङ्गस, चिकेन ससेज, सलामी र मेरिनेट उत्पादन गरी बजारमा बिक्री गर्नेछ । उद्योगले ४८ जनालाई प्रत्यक्ष रोजगारी, ९७ जना किसान परिवार र १०० भन्दा बढी फ्रेस हाउसलाई अप्रत्यक्ष रोजगारी दिएको छ । पोखराका ३४ जना पर्यटन व्यवसायी, उद्यमी, प्रतिष्ठित व्यक्ति र कुखुरापालन व्यवसायीको करिब रु सात करोडको संयुक्त लगानीमा उद्योग स्थापना भएको हो । हाल उद्योगले उद्योग परिसरलगायत पोखराको चार ठाउँबाट मासु बिक्री गरिरहेको छ भने आगामी दिनमा देशका विभिन्न भाग र विदेशमासमेत निकासी गर्ने भएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०७१