बिहिबार, चैत्र १५, २०८०

तरकारीखेतीको सफल उत्पादन

बागलुङ, ९ पुस । पश्चिमाञ्चलको बागलुङ्ग जिल्लाको तमान गाविसमा यतिखेर प्राङगरिक तरकारी उत्पादन शुरु भएपछि किसानहरु उत्साहित बनेका छन् । तमान–८ की फारामदेवी छन्त्यालले यसअघि कहिल्यै आफ्नो गाउँमा घिरौँला फलेको देखेका थिएनन् । न त उनलाई तमानमा घिरौँला फलाउन सकिन्छ भन्ने नै थाहा थियो ।
आफ्नो बारी र करेसामा उब्जाउ नै हुन्न भन्नेमा पुगेका तमानवासीलाई तरकारी खान पाउनु पनि ‘दुर्लभ’ हुन्थ्यो । घुमन्ते व्यापारी तरकारी बेच्न तमान पुग्थे । एक किलो टमाटर रु २६० सम्ममा बेच्ने गर्थे ।
आज यसको ठीक उल्टो भएको छ । तमानका कृषक बारीमा उब्जेको तरकारी बजारमा बेच्न थालेका छन् । “तरकारीको नाममा त्यही आलु र साग हुन्थ्यो अरू त हामीले देख्न पनि पाउदैनथ्यौँ ”, तमान–५ का अगुवा कृषक कुलबहादुर बुढाथोकीले भने ।
समुन्द्री सतहदेखि २४०० मिटरको उचाइमा अवस्थित तमान गाउँमा पहिलोपटक तरकारीखेतीको सफल उत्पादन भएपछि कृषकको दैनिकी नै फेरिएको हो ।
तमानमा कहिल्यै नफलेको तीते करेला, घिरौँला, टमाटर, खुर्सानीलगायतका तरकारीबाली फल्दा कृषक दङ्गमात्रै परेका छैनन् । तरकारी सप्रेपछि खुसीले हौसिएका पनि छन् । “दरबाङ, बुर्तिवाङ आउने व्यापारीले तरकारी बेच्ने गर्थे, पैसा हुनेले किनेर खान्थे, नहुनेलाई त्यो पनि कहाँ पाइन्थ्यो”, स्थानीय तनीमा घर्तीले भने, “अहिले त घरमै फलेको रोजीरोजी खान पनि पाइएको छ, बेचेर पैसा पनि आएको छ ।” तमानका ४२ कृषकले पाँचवटा समूह बनाएर व्यावसायिक तरकारीखेती अघि बढाएका छन् ।
स्वयम्शक्ति बागलुङद्वारा सञ्चालित प्राङ्गारिक खेतीबाट जीवनस्तर सुधार कार्यक्रमले कृषकलाई तरकारी उत्पादनतिर आकर्षित गरेको हो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग तथा कृषि विकास कार्यालयको प्राविधिक सहयोग छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७१