बिहिबार, बैशाख १३, २०८१

मह उत्पादन बढ्दा किसान उत्साहित

प्युठान, ८ पुस । बेलवास–४ का मोहनलाल गोराथोकीसँगै पढेका उहाँका अधिकांश साथी अहिले दुबई, कतार र मलेसियामा छन् । गोराथोकीको मात्रै होइन सोही गाविस वडा नं ३ का मानबहादुर पुनका चार दाजुभाइमध्ये तीनैजना अहिले भारतमा दुःख पाउँदै छन् ।
त्यस्तै भिगृ गाविसका एकराज भण्डारी पढाइको हिसाबले अधिकृत तहको जागिरे हुनुपर्ने तर उनी आफ्नै घरमा परिवारसँग रमाउँदै छन् । भण्डारीले न त जागिरका लागि भनेर भौँतारिनुभयो न त उनले कहिले सरकारी जागिर खाने मन गरे । गोराथोकी, पुन र भण्डारीको आफ्नै पौरख र मेहनत छ ।
सुरुका दिनमा आर्थिक अवस्था कमजोर भएका उनहरू जस्तै दर्जनौँ कृषकले अहिले जिल्लामा मौरीपालन गरी त्यसैबाट मोहर कमाउन थालेपछि उनीहरूको जीवन नै परिवर्तन भएको छ । “महको मूल्य दिनानुदिन वृद्धि हुँदैछ,” गोठिवाङ गाविसका मदनबहादुर पुनले भन्छन् – “विदेश गएर कमाउने पैसा त यही कमाउँदै छु ।” मौरीबाट उत्पादन हुने महको मूल्य वृद्धि अहिले पछिल्लो चार वर्षकै अवधिमा दोब्बर भएपछि जिल्लाका कृषक थप उत्साही भएका छन् । जिल्लामा अहिले गाउँमा प्राकृतिक रुपमा उत्पादन भएको मह रु एक हजार २०० देखि एक हजार ८०० सम्ममा बिक्री हुने गरेको छ । यो चार वर्ष पहिलाको तुलनामा दोब्बर मूल्य हो ।

प्रकाशित मिति: मङ्लबार, पुस ८, २०७१