बुधबार, बैशाख १२, २०८१

गोरखामा फस्टाउँदै बोयर पालन

गोरखा, ८ पुस । गोरखाको बक्राङ गाविसका किसानले घरमा बोयर जातको बाख्रापालन गर्न थालेका छन् । लुदी कृषि सहकारी संस्थासँग समन्वय गरेर बक्राङका स्थानीय किसानले बोयर जातको बाख्रापालन गरेका हुन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बन्दीपुर कृषि फार्मबाट बाख्रा ल्याएर किसानले व्यावसायिक बाख्रापालन गर्दै आएको स्थानीय किसान हुतनारायण श्रेष्ठले जानकारी दिए । तुलसी मेहर युनेस्को क्लबको कृषि उत्थान कार्यक्रममार्फत किसानले घरघरमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक बाख्रापालन गर्दै आएको श्रेष्ठको भनाइ छ ।
“घरघरमा खोर बनाएर बोयर जातको बोका पालेका छौँ,” श्रेष्ठले भने, “सहकारीको सदस्यको घरमा खरी जातको बाख्रा र बोयर बोका पालेका छाँै ।” बाख्रापालनबाट यहाँका किसानले राम्रो आम्दानी लिँदै आएका छन् ।
किसानले पालेको बाख्रा र बोकाको बन्दीपुर कृषि फार्मले बिमा गरिदिएको छ । “बाख्रा र बोयरको बिमा गरेका छाँै”, उनले भने, “बाघले बाख्रा खायो भने बिमाको रकम पाइन्न ।”
साथै बाख्रा र बोयर जातको बोका बिरामी भयो भने तुलसी मेहर युनेस्को क्लबले उपचार खर्च सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस ८, २०७१