बुधबार, बैशाख १२, २०८१

कृषिका निर्देशनालयले बुझाउँछन् गलत तथ्यांक

ministry agricultueकाठमाडौं, २ पुष । कृषि विकास मन्त्रालय कृषि विभाग मातहतमा १२ वटा विभिन्न निर्देशनालयहरु छन् । ती निर्देशनालयहरुको काम फरक फरक प्रकृतिका भएपनि उनीहरुले पेश गर्ने गरेको तथ्यांकहरु नै गलत हुने गरेको तथ्य फेला परेको छ ।
कृषि विभागमा सहसचिव स्तरको महानिर्देशक रहने र निर्देशनालयमा पनि सहसचिव स्तरकै कार्यक्रम निर्देशक रहने भएकाले पनि कतिपयले त कृषि विभागका महानिर्देशकको निर्देशन नै मान्दैनन् । महानिर्देशकको निर्देशन नमान्ने मात्र होइन विभागलाई यथार्थ विवरण पनि बुझाउन छाडिसकेका छन् भन्ने प्रमाण बाली विकास निर्देशनालयले सार्वजनिक गरेको धानको तथ्यांकले नै प्रमाणित गरिदिएको छ ।
कृषि विभागले आयोजना गरेको चौमामिक समिक्षा वैठकमा बाली विकास निर्देशनालयले यस बर्ष मुलुकभर धान उत्पादनमा दिएको तथ्यांक र मंगलबार मन्त्रालयले सार्वजनिक गरेको सोही विषयमा फरक परेपछि तथ्यांक गलत पेश गर्ने गरेको खुलासा भएको हो ।
एउटै मन्त्रालयको माहतका विभाग वा निर्देशनालयबाट दिइने यस्ता गलत तथ्यांकले आम किसानहरुलाई कस्तो सेवा देला भन्ने प्रमाणित भएको छ । बाली विकास निर्देशनालय मात्र होइन कृषि विभाग मातहतमा दर्जन निर्देशनालयहरु मध्ये आधा दर्जन निर्देशनालयहरुले काम नदेखिने भएपनि कागजकै भरमा काम भएको देखाउने गरेका छन् ।
निर्देशनालयहरुले चौमासिक समिक्षा वैठकमा पेश गर्ने गरेको कार्य प्रगति विवरणलाई समिक्षा गर्ने भन्दा पनि यसो गरियो, त्यसो गरियो भन्ने भन्दा केही पनि पाईदैन । पेश भएको प्रगति विवरण लिएर फिल्डमा हेर्ने हो भने केही पनि भेटिंदैन विभाग निकट स्रोतले कृषि अनलाईनलाई बतायो ।
चौमासिक समिक्षा वैठक बस्नै पर्ने भएकलो नियमित कर्म जस्तै बन्यो । मन्त्री सचिव हुञ्जेल हल भरिन्छ मन्त्री सचिव हिंडेपछि हल रित्तो हुन्छ । यस्तो समिक्षाको के अर्थ हुन्छ र ? उद्घाटन सत्र सकिनासाथ बाहिरिएका एक सहसचिवले कृषि प्रतिनिधिलाई बताए । तपाई किन नबस्नु भएको त? भन्ने प्रश्नमा उनले भने मैले अरुलाई नै जिम्मेवारी दिएको छु । खाली प्रस्तुति गर्ने मात्र त हो जसले गरेपनि भईहाल्छ नि उनको तर्क थियो । काम हुने होइन कागजमा मात्र देखाउने त हो नि ? उनले हास्दै भने ।
हुन पनि कृषि विकास मन्त्रालय मातहतका कार्यालयहरुमा हुने गरेका कामहरुलाई हेर्ने होभने यही अवस्थामा देखिन्छ । अर्को कुरा कृषि विभागमा रहेका महानिर्देशकले आफू मातहतका निर्देशनालयले गरेका काम कार्वाही प्रति जिम्मेवारी नलिएका कारण पनि यो अवस्था आएको विभागकै उच्च कर्मचारी बताउँछन् । महानिर्देशकको जुन भूमिका हुन्छ त्यो भूमिका महानिर्देशकले पूरा गर्न नसकेकै फल यो अवस्था आएको उनको तर्क थियो । – हिमा स्वस्ती पौडेल

प्रकाशित मिति: बुधबार, पुस २, २०७१