बिहिबार, फाल्गुन १७, २०८०

विरामी हुँदै नेपाली माटो

काठमाडौँ, २ पुस । पोषणयुक्त माटोबाट उत्पादन भएको वस्तु उपभोग गरेमा मानव शरीरलाई आइरन र जिङ्क क्याप्सुल आवश्यक नपर्ने कृषि विज्ञको भनाइ छ ।

नाइट्रोजन, फस्फोरस, पोटास, सल्फर म्याग्नेसियम, बोटन, जिङ, आइरन, मलेडिनम, कपर क्लोरिनलगायत १६ थरीका रासायनिक तत्व मिसिएको माटोबाट उत्पादन गरिएको खाद्यान्न खानाले मानव शरीरलाई कृत्रिम आइरन र जिङ चक्की आवश्यक नपर्ने उनीहरुको विश्वास हो ।
मानिसलाई जस्तै माटोलाई पनि पोषण तत्व चाहिन्छ । तर उत्पादन बढाउने निहुँमा माटोलाई दोहनमात्र गर्दा माटो रोगी हँुदै गएको छ । रोग लागेको माटोबाट उत्पादन गरिएको वस्तु उपभोग गर्दै जाँदा कालान्तरमा मानिस आफैँ रोगी बन्छ । बाली तथा बागवानी निर्देशक डा यज्ञगजाधर खड्काले बताए । उनले भने – “माटोलाई पूर्णरूपामा निरोगी बनाउन एक हेक्टर जमिनमा करिब ३० टन कम्पोस्ट मलको प्रयोग गर्नुपर्छ । तर, नेपालका कुनै पनि क्षेत्रमा उक्त मात्रामा कम्पोस्ट मल प्रयोग भएको पाइँदैन ।”
माटोलाई कम्तीमा शत्रुजीवसँग लड्न सक्ने क्षमतावान् बनाउन २० रोपनी जमिन (एक हेक्टर)मा कम्तीमा पनि १० टन प्राङ्गारिक मलको आवश्यकता पर्दछ । तर, सो मात्रा जैविक उत्पादन गर्ने केही किसानले मात्र प्रयोग भने गर्ने गरेका छन् ।
माटोलाई सधैँभरि दोहन गरिरहनु हुन्न । ज्यादा दोहन गर्दा माटो पूर्णरूपमा विषाक्त हुन्छ । वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेत भन्छन् – माटोलाई आराम पनि चाहिन्छ । आराम दिनु भनेको घुम्ती बाली वा कोसेबाली लगाउनु हो ।
बाली भित्र्याउँदा किसानले जरैदेखि कटनी गर्ने, पर्याप्त मात्रामा प्राङ्गारिक तथा रासायनिक मल नदिने र आवश्यकताभन्दा धेरै विषादीको प्रयोग गर्ने बानीले माटो रोगी बन्दै गएको छ ।
धान, गहुँ, जौँ, कोदो, फापर, मकै, तोरीलगायतका अन्नबाली भित्र्याउँदा किसानले जरैदेखि उखल्ने र पिँधमै काट्ने गर्नाले पनि माटो रोगी बन्दछ । धानको पराल, गहुँ तथा जौँको छ्र्वाली, कोदो र फापरको नल र मकैको ढोड गाई भैँसीका लागि खाद्यान्नका रूपमा प्रयोग गर्न सकिने भएका कारण जमिनमा उक्त वस्तु नछाड्नाले पनि माटो उर्बर नबनी रोगी बन्न गएको हो ।
एक हेक्टर जमिनलाई उपयुक्त प्राङ्गारिक मलसहित धानका लागि १०० केजी नाइट्रोजन, ४० केजी फस्फोरस र ३० केजी पोटास, मकैका लागि १२० केजी नाइट्रोजन, ६० केजी फस्फोरस र ४० केजी पोटास तथा गहुँका लागि १०० केजी नाइट्रोजन, ४० केजी पोटास र ४० फस्फोरसको आवश्यकता पर्दछ ।
काभ्रेकी सोविता जिसीलाई कुन माटोमा कस्ता प्रकारको बाली लगाउन पर्छ भन्ने विषयको ज्ञान छैन । उनले हचुवाकै भरमा खेती गर्दैआएको २० वर्ष नाघिसकेको छ । उनले बालीमा रासायनिक मल र विषादीको मात्रा भने बढाउँदै लगेकी छिन् तर सो जमिनमा प्राङ्गारिक मल भने बढाउन सकेकी छैनन् ।
नेपालका अधिकांश किसानले हचुवा व्यवस्थापनबाट खेती गर्दैआएको नकार्न भने सकिँदैन तर कृषि विभागका प्रमुख युवकध्वज जिसी भने किसानलाई उचित सल्लाह दिएको दाबी गर्दछन् ।
रासायनिक मल र विषादी मात्राभन्दा बढी प्रयोग भएमा माटोमा अम्लीयपना र क्षारिक (लवण) बढी हुन गई माटो कडा हुनुका साथै उब्जनीमा व्यापक कमी आउन सक्छ । समयमै माटोको परीक्षण गर्ने किसान न्यून रहेको बताइन्छ ।
कृषि गणना २०६८ ले ६५ प्रतिशत जनता कृषि पेसामा निर्भर रहेको जनाएको छ । डा यज्ञ खड्का मुस्किलले करिब पाँच प्रतिशतले माटो परीक्षण गराएको अनुमान गर्नुहुन्छ । प्रत्येक जिल्ला कृषि विकास कार्यालयले माटो परीक्षणको व्यवस्था मिलाएको छ । तर परीक्षणमा न्यून मानिस आउने गरेको जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्ण ढुङ्गानाले बताइन् ।
अम्लीयपना र क्षारिक (लवण) को मात्र घटाउन चुनको प्रयोग गर्नुपर्छ । तर, सोविताले २० वर्षसम्म लगातार खेती गरे पनि जमिनमा कृषि चुनको प्रयोग गरेकी छैनन् । कृषि चुनको प्रयोग भए माटोले चुनबाट खाद्य तत्व प्राप्त गर्दछ । माटोको पिएच मान ६ देखि ६ दशमलव ५ सम्म रहे माटो रोगी मानिँदैन ।
वर्णशङ्कर र हाइब्रिड जातका बीउबिजनको प्रयोग, गाईवस्तुको मलबाट गुइँठा बनाउनु, प्राङ्गारिक मलको प्रयोग, पत्करलगायत कुहिन सक्ने वस्तुको प्रयोग नगर्नु र घुम्तीबालीका रूपमा दलहन बालीको उत्पादनमा जोड दिनुले नेपालको माटो क्रमशः रोगी हँुदै गएको विज्ञको निचोड छ ।  –राजाराम कार्की

प्रकाशित मिति: बुधबार, पुस २, २०७१