आइतवार, फाल्गुन २०, २०८०

सदुपयोग होला कृषि अनुदानको

कुनै बेला कृषि क्षेत्रलाई अपमानजनक हिसावले हेर्ने गरेका उच्च ओहोदामा बस्नेहरु पनि यतिखेर कृषि क्षेत्रमा लगानी गर्न थाले भन्दा धेरै अचम्म पर्ने गरेका छन् । त्यसमा अचम्म पर्नुको कारण त्यत्ति देखिंदैन । पछिल्लो समयमा कृषि लगानी गर्नेहरुको ओइरो नै लागेको छ । जुन मुलुकका लागि अत्यन्तै महत्वपूर्ण पाटोका रुपमा देखिएको छ । सेना, प्रहरी, प्रशासनिक क्षेत्रका अवकाश प्राप्त भएका उच्च अधिकारी एवं राजनीतिक दलका नेतृत्वमा बस्नेहरु पनि व्यवसायिक कृषि आकर्षित भई लगानी गर्नुले मुलुक साँच्चै नै कृषिमा आत्मनिर्भर हुन्छ कि भन्ने अड्कल बाजी गर्न थालिएको छ । तर, विडम्वना कतिपयले साँच्चै नै कृषिलाई व्यवसायीकरण नै गर्नु पर्दछ भनेर यो क्षेत्रमा हात हालेका छन् पनि कतिपय कृषिमा दिइने अनुदान हात पार्नका लागि यो क्षेत्रमा लगानी गरिरहेको पाइन्छ ।

कृृषि विकास मन्त्रालय होस् वा अन्य गैरसरकारी संस्थाले मात्र होइन विभिन्न देशका राजदूतावासले पनि कृषिमा सिधै अनुदान दिने गरेको समेत पाइएको छ । ती अनुदानहरु वास्तविक किसानसम्म पुग्न नसकिरहेको गुनासो आईरहेका बेला व्यवसायिक कृषिका नाममा कृषि फार्महरु सञ्चालन गरेर अनुदान हात पार्ने योजनामा लागेकाहरुका कारण कृषि अनुदान “मामाको धन फुपुको श्राद्ध” हुने हो कि भन्ने शंका पनि उब्जन थालेको छ ।
कृषि क्षेत्रमा दिइने अनुदान एकद्धार प्रणाली नभएकोले पनि यो समस्या आएको विज्ञहरुले नै बताईरहेका छन् । कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु त कृषि विकास मन्त्रालय वा मातहतका कार्यालयहरुस“ग समेत समन्वय नगरी कृषि क्षेत्रमा लगानी गरिरहेको देखिन्छ । यसरी गरिएको लगानी नेपाली किसानहरु समक्ष पुग्ला वा नपुग्ला त्यो फरक ठाउ“मा छ तर त्यसरी गरिएको लगानी कृषि क्षेत्रको विकासका नामबाट अन्य प्रयोजनका लागि पो गरिएको छ कि भन्ने शंका नउब्जिएका पनि होइनन् ।
यद्यपी मुलुकभरी कृषि क्षेत्रमा गरिएका लगानी होस् वा अनुदान सहि सदुपयोग भएको छ कि छैन भन्ने कुरा अनुगमन प्रभावकारी ढंगले हुन सकिरहेका छैन । त्यसैले पनि पछिल्लो समयमा सरकारी अनुदान हात पार्नका लागि मात्र पनि कृषि फार्महरु सञ्चालनमा आउनु कतै कृषि क्षेत्रको विकास भन्दा पनि घातक त हुने होइन ? सोच्नु पर्ने बेला आएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस १, २०७१