बुधबार, बैशाख १२, २०८१

कैलालीमा धान उत्पादनमा वृद्धि

धनगढी, २८ मंसिर । गत बर्ष धान उत्पादन घटेको कैलाली जिल्लामा यस वर्ष अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १६ प्रतिशतले धान उत्पादन वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष जिल्लामा दुई लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष दुई लाख २७ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयका सूचना अधिकृत खेमराज जोशीले बताएका छन् ।
उन्नत जातको धानको बीउको प्रयोगमा वृद्धि, रासायनिक मलको सहज आपूर्ति र अनुकूल मौसमका कारण धान उत्पादन वृद्धि भएको बताइएको छ ।
जिल्लाको मुनुवा, जोशीपुर, भजनी, दरख, हसुलिया, बौनिया, मालाखेती, चौमाला, साडेपानीलगायतका क्षेत्र धान उत्पादनका लागि उर्वरा क्षेत्र मानिन्छन् । सर्जु ५२, राधा ४, लोकतन्त्र, हर्दीनाथलगायतका उन्नत जातका धानखेती गरिँदै आएको छ ।
सर्जु धानखेती गर्न सिफारिस नगरिएको भए पनि अधिकांश कृषकले सर्जु धानखेती गर्ने गरेका छन् । रोगको सङ्क्रमण बढ्ने भन्दै कृषि मन्त्रालयले सर्जु धानको सिफारिस गरेको छैन । बढी फल्ने गरेकाले आफूहरूले सर्जु धानको खेती गर्ने गरेको स्थानीय कृषकले बताएका छन् ।

प्रकाशित मिति: आइतवार, मंसिर २८, २०७१