शनिबार, बैशाख ८, २०८१

मत्स्य विकास केन्द्र समस्यामा

राजविराज, २८ मंसिर । सप्तरीको फत्तेपुरमा रहेको मत्स्य विकास केन्द्रको कार्यालय तथा मत्स्य पोखरी संरक्षण तथा बजेटको अभावमा लथालिङ्ग भएको छ ।

विसं २०२९ मा स्थापित केन्द्रका कर्मचारीले ध्यान नपु¥याउँदा त्यसअन्तर्गतका पोखरी तथा जग्गा मासिँदै गएको छ ।
सो कार्यालयमा जनयुद्धका बेला नेपाली सेना क्षमताभन्दा बढी सङ्ख्यामा बसेको थियो । जसका कारण भवन जीर्ण भएको छ । स्रोत, साधन र बजेटको अभावमा भवनको पूर्ण निर्माण तथा भवन कम्पाउडको जग्गा सफाइ गर्नसमेत समस्या परेको कार्यालयका कर्मचारीहरू बताउँछन् ।
नेपाली सेनाले कार्यालय छोडेर गए पनि कार्यालय मर्मत नहँुदा काम गर्न समस्या परेको कार्यालयका प्रमुख तथा कर्मचारीले बताएका छन् ।
करिब ३० बिगाहा क्षेत्रफल ओगेटेको मत्स्य विकास केन्द्रमा ३३ वटा पोखरी रहेका छन् । संरक्षण तथा मर्मतको अभावमा हाल २७ वटा पोखरी मात्र प्रयोगमा रहेको बताइएको छ ।
अन्य पोखरीहरू जीर्ण अवस्थामा रहेकाले पूर्णरूपमा सञ्चालनमा आउन नसकेको मत्स्य विकास केन्द्र फत्तेपुरले जनाएको छ ।
स्थानीय बासिन्दाले जथाभावी रूपमा गाई बस्तु छाडेको र माछा चोरीका कारण पनि मत्स्य केन्द्रको काममा समस्या आएको छ । माछाका भुरासमेत उत्पादन गर्दै आएको मत्स्य विकास केन्द्रले सम्पूर्ण पोखरी सञ्चालनका लागि बजेटको समस्या देखाउँदै आएको छ ।
आर्थिक वर्ष २०६९÷०७० मा फ्राई भुरा १५ लाख र फिङ्गरिङ भुरा १० लाख उत्पादन गर्ने लक्ष्य रहेको सो केन्द्रले वार्षिक रु आठ लाख भुरा माछा बिक्रीबापत सरकारलाई राजस्व बुझाउँदै आएको केन्द्रबाट थाहा भएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २८, २०७१