बिहिबार, बैशाख ६, २०८१

खाद्यान्न प्रयोगशाला सञ्चालनमा आउने

khadya-sansthanकाठमाडौँ, २६ मंसिर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य बस्तुको परीक्षण गर्दै आईरहेको भएपनि खाद्य वस्तुको गुणस्तर परीक्षण गरिने ‘आधुनिक खाद्य प्रयोगशाला’ आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।

नेपाल खाद्य संस्थान, जिल्ला विकास समिति, काठमाडौँ र भारतीय दूतावासको सहकार्यमा सञ्चालनमा ल्याउन थालिएको सो प्रयोगशाला भवनको करिब ९५ प्रतिशत काम सकिसकेकोले आउँदो पाँच÷६ महिनामा सञ्चालनमा ल्याउने तयारी खाद्य संस्थानले गरेको छ ।
“भद्रकाली प्लाजास्थित खाद्य संस्थान नजिकै रहेको भवन निर्माण कार्य लगभग सकिसकेको र प्रयोगशालालगायतका उपकरण ल्याउने बारेमा तीनवटा निकायबीच सहकार्य भइरहेका समेत खाद्य संस्थानले कृषि अनलाईनलाई बताएको छ ।
दुई वर्षअगाडि प्रयोगशाला सञ्चालनमा ल्याउनका निम्ति खाद्य संस्थानले जग्गा÷जमिन र आवश्यक जनशक्ति तयार गर्ने, जिल्ला विकास समितिले भवन निर्माण गर्ने र भारतीय राजदूतावासले प्रयोगाशालासहित आवश्यक उपकरणहरू जुटाएर सरकार अर्थात् खाद्य संस्थानलाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।
सो प्रयोगशालालाई वर्षदिनभित्रमै प्रयोेगमा ल्याउने सहमति भए पनि विविध कारणवश अहिलेसम्म सञ्चालनमा आउन नसकेको हो । खाद्य संस्थानका अनुसार भवन निर्माणको निम्ति जग्गाको व्यवस्था खाद्य संस्थानले गर्ने भवन निर्माण गर्न आवश्यक रु साढे दुई करोड जिल्ला विकासले सहयोग गर्ने र बाँकी रु साढे दुई करोडबराबरको दूतावासाले प्रयोगशालासहितको उपकरणको व्यवस्था गरिदिने समेत सहमति भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७१