बिहिबार, बैशाख १३, २०८१

महोत्सवले बढायो स्थानीय सुन्तलाको व्यापार

orangeचरिकोट, २४ मंसिर । दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबारदेखि सुरु भएको दोलखा महोत्सवका कारण स्थानीय सुन्तलाले राम्रो बजार पाएको छ ।

सदरमुकाम चरिकोटस्थित टँुडिखेल मैदानमा चलिरहेको महोत्सवमा जिल्लाका विभिन्न गाविसबाट आएका सुन्तला कृषक र व्यापारीको भीड लागेको छ । आयोजकका अनुसार केही कृषकले आफ्नै घर आँगनमा फलाएको सुन्तला बिक्री गर्न स्टल नै लिएका छन् ।
सदरमुकामको सातदोबाटो चोकसहितका विभिन्न स्थानमा समेत सुन्तला बिक्री गर्ने किसानको भीड छ । जिल्लाका पवटी, गैरीमुदी, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, लामिडाँडा, फस्कु, नाम्दुलगायतका गाविसका किसान सुन्तला बिक्री गर्न सदरमुकाम आएका छन् । महोत्सवमा आएका पर्यटकले समेत दोलखाको चिसो मौसममा फलेको सुन्तलाको स्वाद मन पराएका छन् ।
आफ्नै गाउँ ठाउँमा भएको महोत्सवमा सुन्तला बिक्री गर्न पाएकोमा किसानसमेत निकै हर्षित छन् । “बगैँचाबाटै बेच्न एक त झन्झट हुन्थ्यो, अर्को ग्राहक कहिले आउँछन् भनेर कुरेर बस्नुपथ्र्यो” सुन्द्रावती गाउँका किसान अर्जुनप्रसाद शिवाकोटीले सुनाउनुभयो – “यहाँ आएर त मनग्य आम्दानी गर्न पाइएको छ ।”
दोलखा महोत्सवमा दैनिक आउने पाँच हजार पर्यटकको आकर्षण चरिकोटमा बेच्न राखिएको सुन्तलामा समेत रहेको आयोजक क्षेत्रिय होटल सङ्घका सचिव सन्तोषकुमार पाठकले बताउनुभयो । किसानहरूले प्रतिकिलो रु ८० सम्ममा बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७१