आइतवार, जेष्ठ १३, २०८१

दूधको मूल्य बढाउने तयारी उपभोक्ता मारमा

milkकाठमाडौं, २४ मंसिर । दुग्ध उत्पादक किसानले लागत अनुसारको मूल्य नपाएकोले मूल्य बढाउने सरकारसँग माग गर्दै कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई दुग्ध उत्पादक टोलीले भेट गरेका छन् । केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा गएको टोलीले ४९ रुपैयाँ लागत परेको दूधलाई दुग्ध विकास संस्थानलाई प्रतिलिटर ३७ रुपैयाँको दूध वाध्यतामा विक्री गर्नु परेको बताएका थिए ।
दुग्ध विकास संस्थानले दिएको दूधको मूल्यका कारण किसानहरु मारमा परेको बताउँदै किसानहरुलाई लागत अनुरुप मूल्य उपलब्ध गराउन समेत आग्रह गरेका थिए । ज्ञापनपत्र बुझाउन गएका टोलीलाई कृषि मन्त्री हरिप्रसाद पराजुलीले दूधको मूल्य बढाउन आफू तयार रहेको आश्वासन दिएको अध्यक्ष नारायाण प्रसाद देवकोटा कृषि अनलाईनलाई बताएका छन् ।
दुग्ध विकास संस्थान भित्र भएको भ्रष्टाचारका कारण नेपाली दुग्ध उत्पादक किसानहरुले उचित मूल्य नपाईरहेको राष्ट्रिय दुग्ध उत्पादन कृषि समाजका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेले बताएका छन् । नेपाली दुग्ध उत्पादक किसानहरुलाई थाङ्गनामा सुताएर भारतीय धुलो दूध खरिद गर्ने दुग्ध विकास संस्थानका कारण यो अवस्था आएको न्यूरेको भनाई थियो । किसान मारा प्रबृत्तिमा दुग्ध विकास संस्थान लागिरहेको दावी गर्दैै संस्थान भित्र मौलाउँदै गएको भ्रष्टाचार अन्त्य नभएसम्म किसानले पनि उचित मूल्य नपाउने र उपभोक्ताहरु पनि मारमा पर्ने बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७१