शुक्रबार, चैत्र १६, २०८०

अदुवाखेतीमा खुम्रे किराको प्रकोप

काभे्रपलाञ्चोक, २३ मंसिर । काभ्रेपलाञ्चोक जिल्लामा लगाएएको अदुवाखेतीमा खुम्रे किराको प्रकोप देखिएको छ । खासगरी जिल्लाको पनौती नगरपालिकाको मल्पीमा गरिएको अदुवाखेतीमा त्यस्तो प्रकोप देखिएको कृषकले जनाएका छन् ।
झन्डै चार रोपनी जमिनमा महिलाले सामूहिक रूपमा गरेको अदुवाखेतीमा खुम्रे किराको प्रकोप देखिएको हो । “अब यो ठाउँमा अदुवा नै खेती गर्न हुँदैन, अन्तरबाली प्रयोग गरेर मात्रै उत्पादन गर्न सकिन्छ,” जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्कबहादुर जिसीले भन्नुभयो । उनले जिल्लाका अधिकांश बालीमा यसको प्रकोप देखिएको जानकारी दिँदै माटोको उपचार गरेर नियन्त्रणमा ल्याउन सकिने तर गोबर मलको प्रयोग गर्न नहुने बताए ।
बाली विकास अधिकृत जिसीले काँचो गोबर मलको प्रयोग र बालीको व्यवस्थापन गर्न नसक्दा र कृषक स्वयम्ले खेतीको तयारी नगरेका कारण खुम्रे किराको प्रकोप देखिएको हुन सक्ने आशङ्का गर्दै पानी जम्ने जमिन भएको ठाउँमा समेत यसको समस्या देखिने समेत बताए ।
कृषक पार्वती भण्डारीले गोबर मल प्रयोगबारे आफूलाई पर्याप्त ज्ञान नभएको उल्लेख गर्दै भनिन्े – “हामीलाई कसरी लगाउने र कसरी पानी कटाउने भन्ने विषयमा ज्ञान भएन ।”
जिल्ला कृषि विकास कार्यालय धुलिखेलले दिएको जानकारी अनुसार जिल्लामा अधिकांश स्थानीय नसे जातको अदुवाको खेती हुँदै आएको छ ।
कुल खेतीयोग्य जमिनमध्ये एक हजार ४९८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुने गर्छ भने वार्षिक उत्पादन १० हजार २७३ मेट्रिक टन पुग्छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २३, २०७१