शनिबार, बैशाख १, २०८१

वातावरण मैत्री कीरा नियन्त्रण पद्धति र प्रांगारिक कृषि उत्पादन

123औपचारिक उच्च शिक्षा लिएका र प्राज्ञिक व्यक्तित्वहरुबाट मात्र  न्वेषणको विकास सम्भव हुन्छ भन्ने परम्परावादी विचारका विरुद्ध उदाहरणीय व्यक्तित्व हुन् चितवन भण्डारा गा.वि.स. वडा नं ७ धमौराका मान कुमार चौधरी । पेशाले उनी गैह् सरकारी संस्थाका सामान्य कर्मचारी भए पनि एकिकृत शत्रुजीव व्यवस्थापन (आई. पि एम.) पद्धतीलाई आत्मसात गर्ने अगुवा कृषक भन्न बढी रुचाउंछन् ।
स्थानीय अन्वेषण प्रबद्र्धन कार्यमा अध्ययन अनुसन्धान गर्ने बौद्धिक व्यक्तित्वहरुका बिचमा समेत परिचय बनाउन सफल चौधरीबाट नयां पुस्ताले धेरै कुराहरु सिक्न सक्दछन् । अनौपचारिक अनुसन्धान र समस्या प्रतिको नियमित साधनाले पनि उच्च प्राज्ञिकतायुक्त विचार सम्प्रेषण गर्न सम्भव छ भन्ने नवीन चिन्तनलाई मान कुमार चौधरीको स्थानीय अन्वेषण विकासले स्थापित गरिदिएको छ । यही नै उनको विशेषता र पृथक् अस्तित्व हो । हानिकारक बिषादी विना पनि ढुसी, भाईरस र कीराबाट तरकारीखेती लाई बचाउनुपर्ने उद्देश्यलाई मन मष्तिष्कमा सजाएर फुर्सदको क्षणमा आफ्नै घर वरपर पाईने श्रोतहरुको सम्मिश्रण र प्रयोग संग खेल्दै जांदा विकसित भएका उनका प्रयासहरु प्रांगारिक खेती प्रबद्र्धन अभियानमा स्तुत्य छन् ।
मान कुमार चौधरी प्रांगारिक खेती प्रविधिमा तल्लीन अगुवा कृषक हुन् । इमान्दार, जिम्मेवारी प्रति कर्मठ अनि मिलनसार स्वभावका चौधरी करेसावारीमा तरकारी खेती गर्दा होस् वा व्यवसायिकरुपमा तरकारी खेती गर्दा होस् कृषकहरुले तरकारीमा लाग्ने हानीकारक रोग कीरा नियन्त्रणको लागि खतरायुक्त विषादीको प्रयोग गर्ने गरेको प्रति ज्यादै चिन्तित छन् ।
विषादीको न्यूनिकरणका लागि सचेत भूमिका निर्वाह गर्ने सिलसिलामा त्यस क्षेत्रमा उनी प्रेरणाका श्रोत बनेका छन् । आफ्नै गाउं घरमा पाईने सजिलो र प्रभाबकारी उपायको जानकारीको अभावमा मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने लगायत वातावरण दुषित पार्ने महंगा विषादी किनेर कृषकहरु तरकारी खेती गरिरहेका छन् । आजभोली स्थानीय श्रोेतको सदुपयोग गरेर घरमा नै वनाउन सकिने वानस्पतिक विषादीको प्रयोगबाट पनि रोग कीरा नियन्त्रण गर्न सकिने सम्बन्धमा विभिन्न वानस्पतिक विषादीहरुको तयारी र प्रयोग गर्ने क्रम बढेको छ ।
प्रांगारिक खेती प्रविधिमा अग्रसर कृषकहरुले आजभोली तरकारीमा लाग्ने विभिन्न हानीकारक ढुसी, व्याक्टेरीया, भाईरस तथा कीरा नियन्त्रणको लागि समेत सजिलो घरेलु उपायको विकास गर्न थालेका छन् । मान कुमार चौधरीले पनि ढुसी, भाईरस र कीरा व्यवस्थापनका लागि आफ्नै पहलमा विभिन्न स्थानीय उपायहरुको विकास गरेका छन् । यसै क्रममा वांसको तामाको झोल प्रयोग गरेर कीरा नियन्त्रण गर्ने, चिनीको प्रयोगबाट ढुसी नियन्त्रण गर्ने तथा गाईको दुध र चिनीको मिश्रणबाट भाईरस नियन्त्रण गरी पर्यावरणमा विषादीको दुष्प्रभाव कम गर्न सकिने व्यावहारिक ज्ञान आफ्नै करेसावारीमा बर्षौं सम्म लगाएर हासिल गरेका छन् ।
खेतीपातीको सिलसिलामा विभिन्न किसिमका भाईरसको प्रभाबकारीरुपमा नियन्त्रण गर्न उनले २५० मिलिलिटर गाईको दुधमा २५० ग्राम चिनी मिलाएर विहान ८ बजे देखि ९ वजे सम्म विरुवामा छर्दछन् । तरकारीवारीको नियमित अवलोकनगर्ने क्रममा वारीमा ढुसी लाग्न थालेको देख्नासाथ उनी संधै चिनीको घोल मिलाएर छर्दछन् । कीरा व्यवस्थापनका लागि ३०० ग्राम अमिल्याएको तामाको टुक्रा लाई १ लिटर पानीका दरले मिसाई झोल तयार पारेर छर्ने गर्दछन् ।
मान कुमारले कीरा नियन्त्रणको लागि एग्रोभेट्समा गएर बिषादी किन्ने पैसा बचाउने मात्र गरेका छैनन् स्वस्थकर तरकारीको प्रयोग पनि त्यत्तिकै गर्ने गरेका छन् । शरीर स्वस्थ रहेन भने हामी कुनै पनि काम गर्न सक्दैनौं भन्ने वारेमा उनी अत्यन्त सचेत छन् । मान कुमारले विकास गरेको ढुसी तथा भाईरस नियन्त्रणको यो स्थानीय अन्वेषण आंफ्नो वारीमा मात्र सिमित नराखी गाउंघर र अन्यत्रका कृषकहरुले पनि उपयोग गरेर बिषादीको अनाबश्यक प्रयोग घटाई स्वस्थकर तरकारीको प्रयोग बढाउनु पर्ने चाहना राख्दछन् । ग्रामीण पुननिर्माण तथा पुनस्र्थापना परियोजनामा नोकरीको सिलसिलामा चितवन जिल्लाका पहाडी गाउंहरुमा घुम्दा त्यहांका कृषकहरुसंग भएका स्थानीय ज्ञानहरुको वारेमा जानकारी लिन र दिन पाउंदा अत्यन्त खुसी हुने गर्दछन् ।
कृषकहरुबाट प्राप्त स्थानीय र परम्परागत ज्ञानलाई सकभर आफ्नो वारीमा ल्याएर प्रयोग गर्न रुचाउंदछन् । उन्को यो स्थानीय अन्वेषणबाट स्वस्थ र गुणस्तरीय तरकारी उत्पादन गर्न सकिने, महंगो विषादीको विकल्पकोरुपमा प्रयोग गर्न सकिने र वातावरणमा सुधार आउने जस्ता सकारात्मक फाईदा प्राप्त गर्न सकिन्छ । हामीहरुले पनि मान कुमार चौधरीले जस्तै स्थानीय अन्वेषणहरु संकलन गर्ने र प्रयोग गर्ने ग¥यौं भने हाम्रो काम सजिलो मात्र नभई स्थानीय श्रोत साधनको प्रयोग गरेर वातावरण मैत्री खेती प्रविधिको अवलम्वन गर्दै स्वस्थकर कृषि उपजको प्रयोग गर्न सकिन्छ । मानिसको सबै भन्दा ठूलो धन स्वास्थ्य नै हो । त्यसैले हामीले हाम्रो शरीरलाई स्वस्थ र निरोगी राख्नु आबश्यक छ ।
शरीरलाई निरोगी राख्न स्वस्थकर, गुणस्तरीय र पौष्टिक आहारको प्रयोगबाट मात्र सम्भव हुन्छ । वातावरण प्रदुषणका कारक तत्वहरुहरुको पहिचान र न्यूनिकरण तर्फ अग्रसर हुनु हामी सबैको कर्तव्य भएकोले हावा, पानी, माटो, वोट विरुवा जस्ता प्रकृतिले दिएका उपहारहरुलाई बुद्धिमत्तापूर्वक प्रयोग गरी भावी सन्ततीलाई हस्तान्तरण गर्न हामीहरु सवै बिषादी न्यूनिकरणको अभियानमा हातेमालो गर्दै अघि बढ्न आबश्यक छ । अहिलेको समयको माग पनी यही नै हो ।
प्रांगारिक कृषि उत्पादन
बि.सं. २०२२ सालमा सिन्धुपाल्चोक जिल्लाबाट वसाईं सराई गरी चितवन जिल्लाको शारदानगर गा.वि.स. वडा नं ८ मिलडांडा गणेश किरण चौकमा बसोवास गर्दै आएका मेहनती कृषक श्री तेज बहादुर लामा आज भोली गाउंघरमा नै प्रांगारिक कृषि पद्धतिमा रमाएर बसेका छन् । एउटा टेलिभिजन कार्यक्रममा तपनिष्ट योगीराज स्वामी रामदेवका अनन्य सहयोगी एवं आयुर्वेदिक चिकित्सा एवं अनुसन्धानकार्यमा संलग्न आचार्य श्री बालकृष्णबाट दिईएको एउटा जानकारीमूलक कार्यक्रममा उन्को ध्यान केन्द्रित हुन गयो ।
त्यस कार्यक्रममा आचार्य बालकृष्णबाट प्रस्तुत ज्ञानका कुराहरुलाई तेज बहादुर लामाले जस्ताको तस्तै उतार्दा उन्ले अनौठो सफलता प्राप्त गरेका छन् । धार्मिक कार्यक्रम हेर्दा यसरी कृषि उत्पादन बढाउन सहयोग पुग्ने व्याबहारिक ज्ञानका कुराहरु पनि प्रसारण हुन्छन् भन्ने कुरा सपनामा पनि सोचेका थिएनन् । उक्त टेलिभिजन च्यानेलबाट मानिसहरुको स्वास्थ्य र आनन्दित निरामयजीवन जिउने कलाको वोध गराउने खालको मात्र कार्यक्रम प्रशारण हुन्छ भन्ने ठानेका लामाले स्वस्थ माटोको महत्वलाई समेत उजागर गरिएको कार्यक्रम प्रसारण भएकामा उनी अत्यन्त उत्साहित छन् ।
त्यस दिन टेलिभिजन कार्यक्रममा आचार्य बालकृष्णबाट उल्लेख गरेका सामग्रीहरुलाई लामाले नबिर्सनेगरी कापीको एउटा छेउमा लेखे अनि जतनसाथ राखे । कापीमा छेउमा लेखेर राखेर मात्र उन्को मन मानेन बरु यसलाई आफ्रनै करेसावारीमा एक पटक प्रयोग गरेर हेर्ने कौतुहलता जाग्यो । यस्का लागि भेली १ किलोग्राम, दालको ढुटो १ किलोग्राम, गाईको गोबर १० किलोग्राम, गाईको पिसाव १० लिटर र ठूलो वर पीपलको वोट मुनिको माटो १ किलोग्रामलाई मिसाएर एउटा डूममा १४ दिन सम्म राखे । यो मिश्रण तयार गर्दा छोप्न अनिवार्य नहुने तर घाम पानीबाट भने बचाउनु पर्ने उन्को भनाई रहेको छ ।
माटोको उर्वराशक्ति बढाउन मद्दत गर्ने यो जिवाणु मल जमिनमा प्रयोग गर्दा माटोमा राम्ररी मुछेर मात्र जमिनमा छर्नु पर्दछ । रासायनिक मलको खराव असरबाट उन्मुक्ति तथा माटोको जीवाणुको संख्या बृद्धिका लागि यो जिवाणु मल बास्तबमा नमूना सिद्ध भएको छ भन्ने तर्क राखेका छन् । यो अनुकरणीय प्रयोगले कृषि उत्पादकत्व बृद्धिमा सफलता मिलेको छ । प्रशिद्ध आचार्य बालकृष्णका अतुलनीय भनाईहरुलाई यथार्थतामा प्रयोग गरी अनुभव संगालेका यी लामा जान्दा प्रेम संसारमा रम्दछ, नजान्दा प्रेम मृत्यूवरण गर्दछ भन्ने उखान चरितार्थ भएको ठान्दछन् । जहां ज्ञान छ त्यहां विज्ञान छ भन्ने भनाईलाई खोज्दै उनी त्यस भित्र रहेका ज्ञानका विषयवस्तुलाई खोज्ने जमर्को गर्दछन् । त्यस भित्र रहेका ज्ञान र विज्ञानलाई सबै बुझ्न नसके पनि खोतल्दै जांदा यसले उन्लाई सार्थक र परिष्कृत ढंगबाट सक्षम र सवल किसिमले जिउन सहयोग भने अबश्य गरेको छ । धर्म, संस्कृती, दर्शनहरु सबै हाम्रा ज्ञानका श्रोत हुन् भन्ने विश्वास लागेको छ । उन्को यस प्रयासले प्रांगारिक कृषि उत्पादनमा थप सहयोग मिलेको विश्वास लिएका छन् । प्रगति तर्फ उन्मुख हरेक जागरुक कृषकहरुलाई लामाको यो प्रयोगात्मक सिकाईका माध्यमबाट एउटा असल पथदर्शकको रुपमा स्थापित हुन सक्ने सम्भावना पनि मजवुत भएर उभिएको छ । दुनियांले चिनेको तर हामीले चिन्न नसकेर पछी परेका हाम्रै सामु असरल्ल सामग्रीलाई चिन्न र प्रयोगमा ल्याउन सके कति सस्तो, कति स्वस्थकर, र कति स्वादिष्ट खाद्यबस्तु हामी आंफैले उत्पादन गर्न सकिंदो रहेछ अनि हाम्रो स्वास्थ कति मजवुत बन्दो रहेछ ? हाम्रो गाउंघरमा सर्वसुलभरुपमा उपलव्धहुने र महत्वहीन संझेर प्रयोग विहीन भएका वस्तुहरुको महत्वलाई यिन्ले उजागर गरी स्वस्थ बाली उत्पादनका निम्ति प्रयोग गरेर देखाएका छन् ।
स्थानीय सामग्रीहरुको प्रयोग बारे उन्ले गरेको चिन्तनबाट विकास भएको स्थानीय अन्वेषणबाट प्रांगारिक कृषि उत्पादनमा भएको सफलता प्रति लामालाई सुखानुभूति महशुश भएको छ । यी उन्नतीशिल व्यक्तिको व्यक्तित्व निर्माणमा धार्मिक च्यानलबाट समेत उचित सहयोग पुगेको आभाष भएको छ । यो जिवाणु मलको प्रयोग बास्तबमा आधुनिक बैज्ञानिक युगलाई धार्मिक अनुष्ठाका माध्यमबाट जोड्ने सफल प्रयास मान्दछ । –
शेषमणि भट्टराई 

प्रकाशित मिति: सोमवार, मंसिर २२, २०७१