बिहिबार, चैत्र १५, २०८०

आयआर्जनका लागि बङ्गुरपालन

bangurभद्रपुर, २१ मंसिर । जिल्ला लघु उद्यम विकास समिति झापाको आर्थिक सहयोगमा जलथल गाविस–८ का हस्दा समुदायले आयआर्जनका निम्ति बङ्गुरपालन सुरु गरेको छ । समितिले अति विपन्न सो समुदायको उत्थानका निम्ति रु तीन लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । दशजनाको समूहले सो आर्थिक सहयोगबाट बङ्गुर पाल्ने व्यवस्थित घर बनाएका छन् ।

एल आकारको सो घरमा १० वटा कोठा रहेका छन् भने दशै जनाले एक÷एक कोठामा बङ्गुर पाल्ने भएका छन् । एक वर्ष समय लगाएर पालिएको एक बङ्गुरबाट रु १६ हजारसम्म आयआर्जन गर्न सकिने बताइन्छ । बङ्गुरको एक बच्चा बिक्री गर्दा मङ्सिर, चैत र वैशाख महिनामा रु चार हजारसम्म मूल्य पाइने तथा अन्य महिनामा रु दुई हजारसम्म पाइने लघु उद्यम बङ्गुरपालन समूहका अध्यक्ष रविना हस्दाले जानकारी दिइन् । एउटा माउ बङ्गुरले बढीमा १२ वटासम्म बच्चा दिने गर्दछ । अत्यन्त न्यून आर्थिकस्तर रहेका सो समुदायले बङ्गुरपालनबाट केही वर्षमै राम्रो आम्दानी गर्न सक्ने समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले बताए । बङ्गुरपालनबाट निस्कने फोहर करेसाबारीमा उच्चतम मल हुने भएकाले उनीहरुले थप आर्थिक उपार्जन गर्नसक्ने पनि उनले जनाए ।

प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७१