शनिबार, बैशाख ८, २०८१

माटो परीक्षण भ्यान सञ्चालन

soil busकाठमाडौं, मंसिर । परम्परागत रुपमा गरिएको खेतीलाई आधुनिकीकरण गर्दै व्यवसायिकरण गर्न तर्फ उन्मूख गर्न माटो परीक्षण अनिवार्य भएकोले माटो परीक्षण गरेर मात्र कृषि उत्पादन गर्न कृषि मन्त्री हरिप्रसाद पराजुलीले किसानहरुलाई आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका बेला सहयोग स्वरुप उपलब्ध गराएको घुम्ती माटो परीक्षण प्रयोगशाला भ्यानको काभ्रेको पाँचखालमा उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
रासायनिक विषादी प्राण घातक भएकाले कृषि उपजहरुमा त्यस्ता विषादी प्रयोग नगर्न आग्रह गर्दै मन्त्री पराजुलीले २१ दिनमा आफ्नै घरमा निर्माण गर्न सकिने वानस्पतिक विषादी प्रयोग गरी आफू पनि स्वस्थ रहन र स्वस्थ उत्पादन गर्न आग्रह समेत गरे । धेरै उत्पादन गर्ने नाममा हाइव्रिड बीउ लगाउने र त्यसमा देखा परेका रोगहरु बचाउने नाममा अत्यधिक विषादी प्रयोग बढिरहेकाले माटो जोगाउनका लागि पनि ध्यान दिन भन्दै घुम्ती माटो परीक्षण भ्यानबाट फाइदा लिन अनुरोध गरे ।
सोही कार्यक्रममा कृषि सचिव जयमुकुन्द खनालले माटो जीवन भएकोले देशमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नका लागि माटो जोगाउने काममा मन्त्रालय संवेदनशील भएकै कारण घुम्ती माटो परीक्षण प्रयोगशाला भ्यान ल्याउन सफल भएको बताए । माटो परीक्षण गरेर मात्र उत्पादन गर्दा अधिक लाभ लिन सकिने भएकाले विषादीको प्रयोग न्यायोचित ढंगले गर्न समेत सचिव खनालले आग्रह गरे ।
काभ्रेका किसानलाई प्रांगारिक खेती तर्फ अग्रसर हुन भन्दै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत प्रकट गरेका थिए । कार्यक्रममा पारादीप फाँस्पेटश लिमिटेड भारतका विश्वद्धिप नन्दले स्वस्थ माटो भए स्वस्थ उत्पादन गर्न सकिने र देशलाई नै स्वस्थबनाउन सकिने भएकाले कृषि उत्पादनका लागि माटो परीक्षण अनिवार्य भएको बताए । माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा दवाडीले ३ दिनसम्म पाँचखालमा माटो शिवर सञ्चालन गर्ने भनिएपछि किसानहरुको मल परीक्षण नगरुञ्जेल आफूहरु त्यही रहने बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७१