शनिबार, बैशाख ८, २०८१

मुडेको आलु ग्रेडिङका लागि अनुदान

potatoसिन्धुपाल्चोक १९, मंसिर । किसानलाई ग्रेडिङमा समस्या आएपछि ब्राण्ड नाम दिइएको हिमाली गाउँ जेठल(मुडे)मा उत्पादित आलु लाई ग्रेडिङ तुल्याउन जिल्ला कृषि विकास कार्यालयले अनुदान दिने भएको छ । सो मशिन खरिद गर्न करिब ३ लाख लागत लाग्ने कृषि कार्यालयले जनाएको छ । सो मध्ये ५० प्रतिशत कार्यालयले अनुदान दिन लागेको प्राविधिक सहायक थापाले जानकारी दिए । लक्ष्य अनुसार उत्पादित आलु राजधानी भित्रन नसके पछि कार्यालयले ग्रेडिङ मेशिन खरिदका लागि किसानलाई अनुदान दिन लागेको हो । सो रकम साना किसान कृषि सहकारी संस्था मार्फत उपलब्ध गराइने कार्यालयका प्राविधिक सहायक नवराज थापाले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयले सिजनमा १० टन आलु पु¥याउने लक्ष्य राखेपनि विविध समस्याका कारण डेढ टन आलुमात्र राजधानी भित्रिएको छ ।
कार्यालयले मुडेमा उत्पादित आलुलाई ‘प्याकिङ’ र ‘ट्यागिङ’ दिएपछि यसै वर्र्षदेखि ब्राण्डेड बनेर राजधानी भित्रिन थालेको थियो । मुडेमा उत्पादित आलु समयमै ‘ट्यागिङ’ नभएकाले लक्ष्यभन्दा निकै कम राजधानी भित्रिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । साना किसान कृषिसहकारी संस्थाले व्यवस्थापन गर्ने गरेका मुडेको आलु असारमा मात्र ट्यागिङ गरिएको थियो ।
मुडेमा उत्पादित आलु उच्चस्तरीय ठाउँमा पुग्ने भएकाले हातले ग्रेडिङ गर्न असम्भव रहेको हो । ‘जस्तोपायो त्यस्तै आलु लैजान नमिल्ने भएकाले लक्ष्य भन्दा धेरै कम आलु पु¥याउन सकियो,’ थापाले बताए ।
२२ सय मिटर उचाईमा उत्पादित स्वच्छ लेकाली हावापानीको आलु राजधानीमा उच्च माग छ । मुडेको आलुको नाममा उपभोक्ता ठगिइने गरेकाले ब्राण्ड दिइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष उत्पादित आलुलाई परीक्षणका रुपमा पहिलोपटक ब्राण्ड नामसहित बजारमा पु¥याइएको हो । यो वर्ष १० किलो र पाँच किलोको प्याकिङ गरी यसै साताबाट बजारमा पठाइएका किसान कृषिसहकारी संस्थाका अध्यक्ष मकरबहादुर तामाङले जानकारी दिए । – तिलक पुरी

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७१