शुक्रबार, चैत्र १६, २०८०

सित्तैमा पाडी पाएपछि भँैसीपालनतर्फ आकर्षित

भक्तपुर, १९ मंसिर । भक्तपुर जिल्लालाई भैँसीपालनको नमुना जिल्ला बनाउने उद्देश्यले जिल्लाको चित्तपोल गाविसमा तीन वर्षअघि सुरु गरेको पाडी वितरण कार्यक्रम प्रभावकारी भएपछि कृषक भैँसी पालनतर्फ आकर्षित भएका छन् ।
चित्तपोल गाविस कार्यालयको रु एक लाखको अनुदान र जिल्ला पशुसेवा कार्यालयको प्राविधिक तथा पाडी ढुवानी खर्चबाट सुरु भएको पाडी वितरण कार्यक्रम प्रभावकारी भएपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।
जिल्ला विकास समिति स्थानीय विकास कोष भक्तपुरले भैँसीपालनको प्रभावकारिताबारे जानकारी लिन स्थानीय विकास कोषका कार्यकारी सचिव राजन शर्माको नेतृत्वमा सञ्चारकर्मीसहितको टोलीले गत बुधबार गरेको अनुगमनमा कृषकले थप पाडी माग गरेका छन् ।
भक्तपुरमा भैँसी पाल्नेभन्दा गाई पाल्नेको सङ्ख्या बढ्दै गएपछि भैँसीपालनको सङ्ख्या बढाई युवा स्वरोजगार बढाउने, मासु एवम् दूध आपूर्ति बढाउने उद्देश्यले भक्तपुरलाई नमुना भैँसीपालन जिल्ला बनाउन चित्तपोल गाविसले भैँसीको पाडी वितरण गरेको थियो ।
आर्थिक अवस्था कमजोर भएका कृषकको आर्थिक अवस्था उकास्न मद्दत पु¥याउन सञ्चालन गरेको नमुना पाडी वितरण कार्यक्रममा चित्तपोल गाविसका २० घर परिवारलाई पाडी वितरण गरिएको थियो ।
पाडी वितरण कार्यक्रमअन्तर्गत गाविसले पाडी खरिद गर्न प्रतिघर पाँच हजार र पुशसेवा कार्यालयले पाडी ढुवानीका लागि प्रतिघर रु दुई हजार सहयोग गरेको थियो । एकपटक पाडी माउ भएर नब्याएसम्म कृषकले त्यसलाई बिक्री गर्न नपाइने नियम छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७१