आइतवार, फाल्गुन २०, २०८०

सुन्तलाले बजार पाएपछि कृषक उत्साहित

बाबियाचौर (म्याग्दी), १६ मङ्सिर । गाउँमा उत्पादित सुन्तला राजधानी काठमाडौँको बजारमा जान थालेपछि म्याग्दीको भकिम्ली गाविस–५ राखुका कृषक उत्साहित भएका छन् । बजार खोज्दै काठमाडाँैको कालिमाटीस्थित तरकारी तथा फलफूल बिक्री केन्द्रमा पुगेका राखुका किसानले उचित मूल्य पाएपछि यस वर्ष मङ्सिरमै गाउँका सबै बगैँचाको सुन्तला एकैपटक बेच्न पाए । स्थानीय बजारमा मौसममा सुन्तला आपूर्ति बढ्दै गएपछि यसअघि त्यहाँका कृषक फूल खेल्ने समयसम्म पनि सुन्तला बिक्री नभएर चिन्तित र निरास बनेका थिए । उनीहरूले बजारीकरण गर्न नसक्दा सुन्तलाखेतीबाट भनेजस्तो आम्दानी गर्न सकेका थिएनन् । सुन्तलाखेती विस्तारसँगै नजिकको बेनी, बागलुङ र कुश्माको बजारमा खपत हुन नसकेपछि बजार खोज्दै काठमाडाँै पुगेर सुन्तला बिक्री गर्न थालेको राखुका कृषक खिमबहादुर पुनले बताउनुभयो । “काठमाडौँ पुगेर व्यापारीसँग सम्पर्क गरेपछि गाडी लिएर सुन्तला किन्न गाउँमै आएका छन्,” पुनले भन्नुभयो, “गाउँका सबै बगैँचाको सुन्तला एकैपटक बिक्री गर्न पाउँदा महिनौँसम्म ग्राहक कुरेर बस्नुपर्ने समस्या हटेको छ ।”
राखु गाउँमा उत्पादन भएको रु दुई लाख २५ हजार मूल्यबराबरको चार मेट्रिक टन सुन्तला गत हप्ता काठमाडौँ पुगेको थियो । पाकेर दाना पहेँलो भइसकेकाले अन्य ठाउँको भन्दा राखुको सुन्तला स्वादिलो र रसिलो छ । साठी घरधुरीको बसोवास रहेको राखु गाउँका ३५ घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका छन् । यस वर्ष सुन्तला बेचेर गाउँमा रु १५ लाख भित्र्याउने लक्ष्य रहेको कृषक पुनले बताउनुभयो । कृषकले व्यापारीलाई प्रतिदुई दानालाई रु पाँचका दरले बेच्ने गरेका छन् । काठमाडौँ पु¥याउँदा ए र बी ग्रेडको सुन्तलालाई प्रतिकिलो ६२ र ३८ तथा सी ग्रेडलाई प्रति क्रेट रु ४०० पर्छ । एकै दिनमा रु ५८ हजारको सुन्तला बेचेका राखुका अगुवा कृषक जगबहादुर रानाले बजारीकरण भएपछि कृषकलाई सहज भएको बताउनुभयो । चालीस हजार बोट सुन्तला रहेको राखु गाउँमा अहिले १० हजारभन्दा बढी बोटमा फल लागेको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १६, २०७१