बलेवा (बागलुङ), १६ मङ्सिर । एक दर्जनभन्दा बढी रोग निको बनाउने औषधिका रूपमा प्रयोग हुँदै आएको भुईं स्याउ (ग्राउन्ड एप्पल)को बागलुङमा व्यावसायिक खेती सुरु भएको छ । बजारमा भुईं स्याउको माग अत्यधिक हुन थालेपछि सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङले स्याउको व्यावसायीकरणका लागि गाउँ–गाउँमा स्याउखेती अभियान सुरु गरेको छ । मानिसमा लाग्ने मधुमेह, मोटोपना, उच्च रक्तचाप, मिर्गाैलाको समस्या, हेपाटाइटिस, कमलपित्त, क्यान्सर, एलर्जीलगायतका रोगको औषधिका रूपमा प्रयोग हुने स्याउको व्यावसायीकरणका लागि महासङ्घले बीउ तथा यान्त्रीकरणमा सहयोग गर्ने महासङ्घका अध्यक्ष प्रेम लामिछानेले बताए । भुईं स्याउका लागि एक हजार पाँच सयदेखि तीन हजार मिटरसम्मको उच्च भूभाग आवश्यक पर्ने भएकाले सम्भावित ठाउँहरूमा व्यावसायिक खेतीका लागि अध्ययनसमेत गरिएको अध्यक्ष लामिछानले बताए ।
जिल्लामै पहिलोपटक अमरभूमि गाविसमा लगाइएको भुईं स्याउले राम्रो उत्पादन दिन थालेपछि बागलुङको अन्य क्षेत्रका किसानसमेत उत्साहित भएका छन् । प्रतिकिलोग्राम रु २०० सम्ममा बिक्री हुने भुईं स्याउको बजार राम्रो भएकाले यसैबाट आम्दानी गर्न सकिने अमरभूमिका किसान होमलाल पुनले बताए । पुनले एक वर्ष अगाडि लगाइएका पाँच हजार बिरुवाले राम्रो उत्पादन दिन थालेपछि अन्य क्षेत्रका किसानलाई समेत उत्साहित बनाएको वन महासङ्घका अध्यक्ष लामिछानेले बताए । “हामीले सामुदायिक वनलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने उद्देश्यले सम्भाव्यता अध्ययनसमेत गरिरहेका छौँ, परीक्षणका रूपमा प्रयोग भएका ठाउँमा राम्रो उत्पादन भएपछि अब यसको व्यावसायिक खेतीमा लाग्छौँ,” लामिछानले भने । खेती सुरु गरिएको नौ महिनामै फल्न सुरु हुने र एउटै बोटबाट पाँच केजीसम्म स्याउ उत्पादन गर्न सकिने भएकाले पनि यसको खेतीबाट किसानको आयआर्जनमा राम्रो सहयोग पुग्ने अमरभूमिका किसान पुनले बताए। भुईं स्याउमा फलाम, क्याल्सियम, सोडियम, पोटासियम, क्लोरिन, म्याग्नेसियम, भिटामिन ‘बी’ १, २ र ग्लुकोजको मात्रा पर्याप्त मात्रामा हुने भएकाले स्वास्थ्यबद्र्धक हुने बताइन्छ । भुईं स्याउको पातबाट हर्बल चिया, फलबाट जुस, ड्रिङ्स, कन्फेक्सनरी, स्न्याक्स, ब्रान्डी रक्सीसमेत उत्पादन हुने भएकाले बजारको समस्या नरहेको एग्रिकल्चर प्रोडक्ट एन्ड मार्केटिङ सेन्टरले जनाएको छ । भुईं स्याउको उत्पादनका लागि सामुदायिक वन उपभोक्ता महासङ्घले जिल्लाका ग्वालीचौर, रेश र भकुण्डेमा व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययन गरी बीउ रोप्ने काम सक्याएको छ ।
Add Comment