शुक्रबार, चैत्र १६, २०८०

कालोबजारी गर्दै अवैध मल विक्री

 faretiतौलिहवा,१५ मंसिर । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका–७ बर्दाहवा चोकस्थित एक पसलमा छापा मारी १९ बोरा अवैध मल बरामद गरेको छ ।
प्रशासन कार्यालयको अगुवाइमा संयुक्त अनुगमन समितिले तौलिहवा–मर्यापुर सडकखण्डअन्तर्गत बर्दाहवा चोकमा रहेको सानिया खाँ एग्रोभेट एन्ड गल्ला खरिद केन्द्रमा सो मल बरामद गरेको हो ।
अनुगमन टोलीले सो पसलमा अवैध रूपमा बिक्रीका लागि राखिएको भारतीय ब्रान्डको सो मल बरामद गरेको थियो । कुनै पनि ब्रान्ड र छाप नभएको आठ बोरा युरिया, नवरत्न डिएपी छ बोरा, पोटास पाँच बोरा फेला पारेको बताइएको छ ।
मलखादको बिक्रीको इजाजतसमेत नलिएको सो पसलमा भारतीय ब्रान्डका मल बिक्री भइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको हो ।
गहुँ लगाउने समयमा डिएपी मल अभाव भएपछि मल कालोबजारी हुने गरेको स्थानीयको गुनासो रहेको छ ।
जिल्लामा सहुलियतको मल कृषि सामग्री कम्पनी तौलिहवा र साल्ट ट्रेडिङ कृष्णनगरमार्फत बिक्रीको जिम्मा दिइएको छ । कृषि सामग्रीले दर्तावाल कृषि सहकारीलाई आलोपालो गरी मल बिक्री गर्दै आएको छ । तर सहकारीहरूले मनपरी ढङ्गले मल बिक्री गर्ने गरेको र सहकारीमा आबद्ध नभएकाहरू मल किन्नबाट वञ्चित हुँदै आएको कृषकको गुनासो छ ।

प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७१