आइतवार, जेष्ठ १३, २०८१

म्याग्दीमा मूला पनि बिकेन, किसान चिन्तामा

radishs

म्याग्दी,मङ्सिर । म्याग्दीको कुहुँ र झिँ गाविसको सीमा क्षेत्रमा पर्ने पर्यटकीय टोड्केमा स्थानीयवासीले उत्पादन गरेको मुलाले बजार नपाउँदा कृषक चिन्तित वनेका छन् । सडक सञ्जाल पुगेपनि सवारी साधन सञ्चालनमा नआउने र बजारको पहुँच नभएपछि कृषकले उत्पादन गरेको मुलाले बजार नपाएको कृषक मीनबहादुर थजालीले बताएका छन् ।

जिल्लामा मुला उत्पादनका हिसाबले उच्च सम्भावना रहेको टोड्केमा अहिले कृषकले उत्पादन गरेको मुला बजारको पर्खाईमा रहेको उनले उल्लेख गरे । उत्पादित मुलाले बजार नपाउँदा अहिले कृषक आम्दानीको स्रोतबाट वञ्चित भएका छन् ।
दुई रोपनीमा मुलाखेती गरेका थजालीले पहिले विभिन्न ठाउँबाट मुला खरिदका लागि ग्राहक आउने भए पनि अहिले त्यो सङ्ख्या कम हुँदै गएको बताए । कृषकले अहिले एउटा मुलालाई रु पाँचदेखि रु २० सम्ममा बिक्री गर्दै आएका छन् ।
टोड्के घुम्न आउने केही आन्तरिक पर्यटकले थोरै मात्रामा मुला किनेर लैजाने गरेको र धेरैजसो मुला धान, गहुँ, कोदोसँग साट्ने गरेको अर्का कृषक दमती पाइजाले बताए ।
उनका अनुसार कृषकले बिक्री नभएको मुलाबाट धजरा, अचार, सिन्कीलगायतका परिकार वनाएरसमेत बिक्री गर्छन् । स्थानीयस्तरमा घरेलु उपयोगका लागि गाउँका सबैले मुलाखेती गरेको र सदरमुकामलगायत व्यापारिक स्थलमा पहुँच नभएकाले आर्थिक लाभ लिन नसकेको कृषकको भनाइ छ ।
टोड्केसँगै पूर्णगाउँ, पात्लेखेत, झिँ, पाखापानी, तोरीपानीलगायतका क्षेत्रमा मुला उत्पादन राम्रो हुने गरेको छ । सहज रूपमा बजारको पहुँच नहुँदा मुलाखेतीलाई व्यावसायिक वनाउन सकिएको छैन ।

प्रकाशित मिति: सोमवार, मंसिर १५, २०७१