शनिबार, बैशाख १, २०८१

अलैँचीको मूल्य हालसम्मकै उच्च

alichiगोरखा, १४ मङ्सिर । गोरखामा उत्पादन भएको अलैँचीको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । बारीबाट टिपेर डायरमा सुकाएको अलैँची किसानले प्रतिकेजी रु दुई हजार ३०० मा धमाधम बिक्री गर्दैआएका छन् ।

अलैँची लिन किसानको घरघरमा ठेकेदार पुगेका छन् । “घरबाटै अलैँची बेच्दै आएको छु,” हंशपुर गाविस–५ का धर्मानन्द दवाडीले भने, “गत वर्षभन्दा राम्रो भाउ पाएका छौँ ।” गत वर्ष प्रतिकेजी रु एक हजार २०० मा बिक्री गरेको अलैँची यस वर्ष रु दुई हजार ३०० पुगेको दवाडीको भनाइ छ ।
गोरखाको हंशपुरस्थित काफलडाँडा, भच्चेक, लप्सीबोट, लामीडाँडा, खरिबोटकोे भञ्ज्याङ, थालाजुङ, मुच्चोकलगायतका ठाउँमा अलैँची उत्पादन हुँदै आएको छ ।
अलैँचीको पकेट क्षेत्र मानिएका गाविसका किसानले धानखेती हुँदै आएको खेत मासेर अलैँचीखेती गरेका थिए । यस वर्षदेखि लापु, वारपाक, लाप्राक, गुम्दाको माछाखोला, हर्मी, घ्याल्चोकलगायतका गाविसमा पनि अलैँचीको उत्पादन हुनथालेको किसानको भनाइ छ । प्रायःगरी भिरालो, चिसो र ओसिलो ठाउँमा अलैँचीको खेती हुने गर्छ ।
“गत वर्षजति यस वर्ष अलैँचीको दाना लागेन,” थालाजुङका किसान धनबहादुर गुरुङले भन्नुभयो, “उत्पादन घटे पनि हामीलाई घाटा लागेको छैन ।”
मूल्य बढ्दै गएकाले उत्पादन घटे पनि मनग्य कमाई भएको गुरुङले बताउनुभयो । यस वर्ष किसानले दोहोरो मूल्यको मार खेप्नुपरेको छैन । अलैँची व्यवसायी सङ्घ गोरखा शाखाले प्रतिकिलो अलैँचीको भाउ किसानलाई जानकारी दिने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयले गत वर्ष विभिन्न ठाउँका किसानका लागि ५० हजारवटा अलैँचीका बिरुवा अनुदानमा दिएको थियो । अलैँचीबाट मनग्य आम्दानी हुन थालेपछि गोरखाका किसान अन्य खेती छाडेर अलैँचीखेतीतर्फ आकर्षित भएका छन् । गत वर्ष गोरखामा १० क्विन्टल अलैँची उत्पादन भएको थियो । अहिले उत्पादनको दरमा केही ह्रास आउने कार्यालयले अनुमान गरेको छ ।
गोरखाको विभिन्न ठाउँमा गरेर करिब ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती गरिँदै आएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७१